पूर्व राज्यमन्त्री साहविरूद्ध जन्मकैद सजाय


धनुषा, चैत्र १४ । जिल्ला अदालत धनुषाले जनकपुर बम काण्डका मुख्य अभियुक्त पूर्व राज्यमन्त्री संजय साहलाई जन्मकैद सजाय गर्ने फैसला गरेको छ । अदालत बेन्च ७ का न्यायाधीश राजेश कटुवालको इजलासले मुकेश चौधरी र राजन मुक्क्ती भनिने रन्जित झालाई पनि जन्मकैदको सजाय सुनाएको छ ।

त्यसैगरी जयप्रकाश चौधरी, मुकेश कर्ण र दिपेन्द्र झालाई १५ वर्ष कैद र ओम प्रकाश यादवलाई १० वर्ष कैद गर्ने फैसला गरेको छ । सो मुद्दामा वादीका तर्फबाट सरकारी वकिल शम्भु गौतम, हेमबहादुर कार्की, वलराम सुवेदी, बिप्पिन झा, चन्द्र शर्मा मैनालीले बहस गरेका थिए ।

प्रतिवादीको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र महतो, वरिष्ठ अधिवक्ता बिनोद शर्मा, श्याम कुमार मिश्र, प्रदीप मिश्र, ओम प्रकाश सिंह, प्रकाश घिमिरे, दिपेन्द्र साह, मन्सुर राइन, राजन दाहाल र विजय ठाकुरले बहस गरेका थिए । मिथिला राज्यको माग गर्दै जनकपुरको रामानन्द चोकमा १८ वैशाख २०६९ मा आयोजना गरिएको धर्ना कार्यक्रममा बम विस्फोट भएको थियो ।

बम विस्फोटन घटनामा ५ जनाको मृत्यु र ३२ जना घाइते भएका थिए । फरार रहेका फुलकुमार डखेल यादवलगायतको हकमा भने मुद्दा मुलतबी रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार