काठमाडौं । भक्तपुरमा गाडीभित्र शंकास्पद अवस्थामा शव भेटिएको छ । सूर्यविनायक नगरपालिका–८ सिपाडोल घर भई आदर्श भन्ने ठाउँका २६ वर्षीय निकेश भुजुको शव भक्तपुर नगरपालिकाको ब्रमायणीमा बा ५च ६४२१ नम्बरको मारुती गाडीमा भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । शनिबार विहान ९ बजे ४ वर्षीय छोरासँगै घरबाट गाडी बनाउन ९मर्मत० भन्दै घरबाट हिँडेका निकेश साँझ ६ बजेसम्म सम्पर्कमा नआएपछि श्रीमती सिर्जनाले महानगरीय प्रहरी वृत्त जगातीमा खबर गरेकी थिइन् ।
खोजतलास गर्दा प्रहरीले करिब ७ बजे गाडी भित्रै निकेशलाई अचेत अवस्थामा फेला पारेको थियो । उनलाई भक्तपुर अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषणा गरेका थिए । खोजीको क्रममा गाडीसहित केही व्यक्तिहरु भक्तपुर नगरपालिका(८ लिवालीतर्फ गएको थाहा भएपछि प्रहरीले पिछा गरेको थियो । लिवालीमै प्रहरीले गाडी रोक्न खोज्दा ती व्यक्तीहरू ब्रमायणी पुगेर गाडी र निकेशको छोरालाईसमेत छोडेर भागेका थिए ।
गाडीमा हेर्दा निकेश अचेत भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकृत प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले बताए । प्रारम्भिक अनुसन्धानपछि प्रहरीले घटना शंकास्पद भएको भन्दै ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले भक्तपुर चाँगुनारायण नगरपालिका–८ का २५ वर्षीय सुमन बाला, दाङको हापुर गाउँपालिका–४ का १९ वर्षीय भुपबहादुर रोका, सिन्धुपाल्चोक मार्मिङ गाउँपालिका–१ घर भइ चाँगुनारायण–९ ताथली बस्ने २६ वर्षीय किरण श्रेष्ठ र चाँगुनारायण–९ ताथलीकै सुकु भन्ने राज बनमाला रहेका छन् । मृतकले अत्यधिक लागूऔषध सेवन गरेको भनिए पनि उनीसँगैका व्यक्तिहरु भागेकोले घटना शंकास्पद भएको प्रहरी निरीक्षक पाण्डेले बताए । ‘घटना शंकास्पद छ । अस्पताल लैजान लागेको भए पनि उनीहरु नभाग्नुपर्ने,’ उनले भने ।