मोरङ प्रदेश १ मा आठौं राष्ट्रिय खेलकुदको प्रदेश स्तरिय छनौट प्रतियोगिता मंगलबारबाट सुरु भएको छ । प्रदेशको अस्थायी राजधानी विराटनगरमा सुरु प्रतियोगिताको प्रदेश १ का आन्तरिका मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले उद्घाटन गरे । आठौं राष्ट्रिय खेलकुदमा समावेश गरिएका ३५ खेल मध्ये फुटबल, एथलेक्सि, भारोत्तोलन, टेबुलटेनिस, क्रिकेट, भलिबल, तेक्वान्दो, कवड्डी, खोखो, उसु, बास्केटबल, ब्याडमिन्टन, कराँते, ह्याण्डबल, चेस, पौडी, सुटिङ, कुस्ती, आईटिएफ तेक्वान्दो, सेपकताक्रो फुलकन्याक कराँते, हक्की र स्क्वास गरी २५ खेलको छनौट प्रक्रिया प्रदेश १ बाट सुरु भएको हो । लङटेनिस, साइक्लिङ, आर्चरी, फिन्सिङ,गल्फ,प्याराग्लाईडिङ,ट्याथलन, सफ्टेनिस, जिम्यास्टिक र शारीरिक सुगठन खेल भने राष्ट्रिय प्रतियोगिताका लागि संघबाटै छनोट भएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।
बक्सिङ, कराँते, भारोत्तोलन र खोखोका खेल मंगलबारबाट विराटनगरमा सुरु भएका छ । छनौट अन्तर्गतको कराँते प्रतियोगिताको महिला एकल कातातर्फ खोटाङकी रेश्मा राईले स्वर्ण जितेकी छन् । रेश्माले मोरङकी स्वस्तिका राईलाई पराजित गरिन् । महिला एकल कातामै इलामकी बिमोचन गुरुङ र शर्मीला श्रेष्ठले कास्य जिते । पुरुष कातामा सुनसरीका रोहित राई सेमीफाइल प्रवेश गरेका छन् ।
त्यस्तै बक्सीङतर्फ महिला ४८ केजी तौलमा भोजपुरकी प्रतिमा राईले क्वाटरफाईनलमा स्थान बनाएकी छन् । प्रतिमाले उदयपुरकी सुस्मिता तामाङलाई एबीडीका आधारमा पराजित गरिन् । त्यस्तै बक्सीङमै पुरुष ५६ केजी तौल समूहमा धनकुटाका रोशन श्रेष्ठ र झापाका सुरेन्द्र राई क्वाटर फाईनलमा प्रवेश गरेका छन् । धनकुटाका रोशनले मोरङका पियूष शर्मालाई अंकका अधारमा हराउँदा झापाका सुरेन्द्रले सुनसरीका पावेल राई आरएसीका आधारमा पराजित गरे । पुरुष ६० केजीमा इलामका तोविन प्रधानले घनकुटाका नवीन लिम्बूलाई आरएसीका आधारमा हराउँदै क्वाटरफाइनलमा स्थान बनाए । फाल्गुन ११ गते सम्म सञ्चालन हुने बक्सिङमा महिलातर्फ ६ तथा पुरुषतर्फ १० तौल समूह रहेका छन् ।