सरकारले फागुन १ गतेबाट प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवात गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ भएसँगै अब सरकारले रोजगारी वा जागिर दिन नसके निर्वाह भत्ता अर्थात् बेरोजगारी भत्ता दिने घोषणासमेत गरेको छ । तर बेरोजगारी भत्ता कसले कस्तो अवस्थामा पाउँछ र कति पाउँछ भन्ने बारे भने धेरैलाई जानकारी नहुन सक्छ ।
यस्तो छ बेरोजगारी वा निर्वाह भत्ता प्राप्त गर्ने आधार : बेरोजगार भत्ता प्राप्त गर्नका लागि पहिले बेरोजगार व्यक्ति रोजगार सूचना केन्द्रमा सूचीकृत भएको हुनुपर्नेछ । बेरोजगार युवाहरुलाई रोजगारी उपलब्ध गराउनका लागि प्रत्येक स्थानीय तहमा रहने रोजगार सुचना केन्द्रले त्यस स्थानीय तहमा रहेका बेरोजगार युवाहरुको सुची बनाएर राख्नेछ । त्यसका लागि आफू बेरोजगार रहेको व्यहोराको निवेदन व्यक्ति स्वयम्ले आफ्नो स्थानीय तहको वडा कार्यालयमा उपलब्ध गराउनुपर्नेछ । वडा कार्यालयले सो को विवरण र जानकारी रोजगार सेवा केन्द्रमार्फत् केन्द्रीय संरचनामा पनि उपलब्ध गराउनेछ । न्यूनतम रोजगारमा संलग्न हुन चाहने बेरोजगार व्यक्तिले प्रत्येक वर्षको चैत महिनामा आगामी आर्थिक वर्षका लागि बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ । यद्यपि पहिलो वर्षका लागि भने मन्त्रालयले नै सो को अवधि आदिबारे जानकारी दिनेछ । रोजगार सेवा केन्द्रले बेरोजगार युवाहरुको सूची पाएपछि स्थानीय स्तरमै रोजगारीको अवसर खोजी गर्नेछ । त्यसका लागि स्थानीय स्तरमा निर्माण हुने सार्वजनिक संस्था वा काममा लगाउनेछ । त्यसका लागि कसले कुन काम गर्ने वा लगाउने भनेर स्थानीय निर्देशक समितिले सिफारिश गर्नेछ ,र त्यही अनुसार रोजगार सूचना केन्द्रले व्यवस्था मिलाउनेछ ।
कम्तीमा १०० दिनको रोजगारी ग्यारेन्टी : स्थानीय तहमा रहेको रोजगार सेवा केन्द्रमा सुचिकृत भएका बेरोजगार व्यक्तिलाई एक आर्थिक वर्षमा कम्तीमा १ सय दिनको न्युनतम रोजगारीको सुनिश्चितता सरकारले गर्नेछ । सामान्य अवस्थामा आफूले गर्न चाहेको काम वा कामको प्रकृतिबारे पहिले नै निवेदनमा खुलाउनु पर्नेछ । तर सरकारले रोजगारी दिएपछि काम गर्दिन भन्न पाउने छैन । यदि काम दिँदा पनि नगरेमा त्यस्तो व्यक्तिको बेरोजगारीको सूची स्वतः हट्नेछ ।
जागिर दिन नसकेमा मात्रै निर्वाह भत्ता :सूचीकृत बेरोजगार युवालाई सरकारले काम दिन नसकेमा मात्रै त्यस्ता व्यक्तिले निर्वाह भत्ता प्राप्त गर्न सक्नेछन् । त्यसका लागि पहिले वडा कार्यालयले निज व्यक्ति निर्वाह भत्ता प्राप्त गर्न लायक हो कि होइन भनी सिफारिश गर्नुपर्नेछ । तर वडा कार्यालयले झुठा सिफारिश गरेमा त्यस्ता व्यक्तिलाई पनि कारवाही गरिने कानुनी व्यवस्था छ । रोजगारी दिन नसकी निर्वाह भत्ता दिनुपर्ने भएमा एक आर्थिक वर्षमा १ सय दिनमा मन्त्रालयले तोकेको न्युनतम पारिश्रमिकको ५० प्रतिशत रकम पाउनेछन् । यदि कुनै व्यक्तिले एक आर्थिक वर्षमा १ सय दिनभन्दा कम दिनमात्रै काम पाएमा बाँकी अवधिको ५० प्रतिशत रकम पनि सरकारले निर्वाह भत्ता उपलब्ध गराउनेछ । तर त्यसका लागि पनि केही शर्त भने मान्नैपर्ने हुन्छ । यदि कुनै व्यक्तिले एक वर्षमा १ दिन पनि रोजगारी प्राप्त गर्न सकेन भने जम्मा २४ हजार रुपैयाँ निर्वाह भत्ता प्राप्त गर्नेछ ।
यस्ता छन् निर्वाह भत्ता पाउने शर्तहरु : परिवारको कुनै पनि सदस्यले तोकिए बमोजिमको रोजगारी नपाएमा, नेपाल सरकारले तोकेभन्दा कम वार्षिक आय भएका परिवारलाई, परिवारको कुनै पनि सदस्य स्वरोजगार नभएमा, परिवारको कुनै सदस्य वैदेशिक रोजगारीमा नगएकोमा । यी न्युनतम शर्त पालना भएको खण्डमा मात्रै बेरोजगारले निर्वाह भत्ता पाउनेछन् ।
कहिलेबाट सुरु हुन्छ कार्यक्रम ? प्रधानमन्त्री रोजगार कार्यक्रम फागुन १ गते घोषणा गरे पनि यस आर्थिक वर्षमा भने ज्यादै कमले मात्रै रोजगारी पाउनेछन् । किनभने फागुन १ गतेबाट प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गरिए पनि फागुनको २२ गते मात्रै रोजगार संयोजकको नियुक्ति हुनेछ । त्यसपछिको एक साता स्थानीय तहसँग छलफल वा संयोजनमा बित्नेछ । स्थानीय तहमा चैत १ गतेबाट मात्रै बेरोजगारहरुको सूची संकलन सुरु हुनेछ । त्यसपछि उनीहरुको वर्गाीकरण गरिनेछ । त्यसपछि रोजगारीको क्षेत्र खोज्दै गर्दा करिबकरिब यस आर्थिक वर्ष बित्नेछ । केही केही बेरोजगारले रोजगारी पाएपनि यस आर्थिक वर्षमा धेरै बेराजगारले रोजगारी पाउने सम्भावना कम छ भने निर्वाह भत्ता पनि कसैले पाउने छैनन् । यसको कार्यन्वयन सम्भवतः अर्को आर्थिक वर्षबाट हुने छ । निर्देशिकाअनुसार प्रत्येक आर्थिक वर्षको चैत महिनाभित्रै बेरोजगारहरुको सुची संकलन गरिसक्नुपर्नेछ । र, उनीहरुलाई रोजगारी अर्को आर्थिक वर्षमा मात्रै दिने व्यवस्था गरिएको छ । त्यसकारण यस आर्थिक वर्षमा बेरोजगारहरुले रोजगारी पाउने सम्भावना कम नै छ । आगामी आर्थिक वर्षमा भने सरकारले कम्तीमा १ सय दिनको रोजगारी ग्यारेन्टी गरेको छ । र, दैनिक ज्याला पनि सरकारले नै तोक्ने हुँदा श्रमिकको आम्दानी भने राम्रै हुने अपेक्षा गरिएको छ ।