धनकुटा । धनकुटाको चौविसे गाउँपालिकामा आफ्नै छोरीलाई बुबाले महिनौदेखि करणी गरेर गर्भवती बनाएको घटना सार्वजनिक भएको छ । गाउँको एक विद्यालयमा कक्षा १० मा अध्ययनरत १६ वर्षीया किशोरीलाई विद्यालयकी शिक्षिकाले शंका लागेर सोधपुछ गर्ने क्रममा करणीबारे खुलासा भएको हो । हाल उनी यही वर्ष एसईईको तयारीमा रहेकी छिन् । शिक्षिकाले सोधपुछ गर्ने क्रममा आफुलाई आफ्नै ३६ वर्षीय बुबाले महिनौ देखि करणी गर्दै आएको शिक्षिकालाई बताएकी थिइन् ।
हाल ति छात्राको पेटमा ८ महिनाको गर्भ रहेको जिल्ला अस्पताल धनकुटामा स्वास्थ्य जाँचपछि खुलेको छ । छात्रा गर्भवती भएको विषयलाइृ लिएर अभिभावकलाई घरमा गएर विद्यालयको तर्फबाट शिक्षिकाले सम्झाएका थिए । छोरी गर्भवती भएको घरका सबै परिवारले थाहाँ पाएपछि सो गाउँमा हलचल मच्चिएको छ ।
छोरी गर्भवती भएको घटना अचानक सार्वजनिक भएपछि बुबाले छोरी विरामी परेको भन्दै अस्पताल लान लाग्दा विद्यालय प्रशासनको सहयोगमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउपछि बाबु छोरीलाई तत्काल जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याएर आवश्यक अनुशन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।