साथीलाई बन्दुक प्रहार गरेको आरोपमा दुई युवा पक्राउ


तेह्रथुम, २५ माघ – भरुवा बन्दुक प्रहार गरी आफ्नै साथीको ज्यान लिन खोजेको आरोपमा तेह्रथुममा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ ।

भरुवा बन्दुकले साथीलाई प्रहार गरेको भन्ने उजुरीका आधारमा फेदाप गाउँपालिका–१, सिम्लेका २६ वर्षीय विश्व कुरुम्बाङ र १९ वर्षीय सविन लिम्बुलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नारायण गौतमले बताए ।

उनीहरुले गएको माघ २१ गते राति ९ बजे स्थानीय १७ वर्षीय सुसन लिम्बुलाई बन्दुक प्रहार गरी घाइते बनाएका थिए । बन्दुकको गोली पेटमा चोट लागेर गम्भीर घाइते भएका लिम्बुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारमा भइरहेको प्रहरीले जनाएको छ ।

पीडित सुसनका बुवा जसबहादुर कुरुम्बाङको उजुरीका आधारमा उनीहरुलाई बुधबार धरानबाट पक्राउ गरी मुद्धा दर्ता गरिएको र पाँच दिनका लागि म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता गौतमले बताए ।

घटनामा संलग्न रहेका विश्वको घरबाट प्रहरीले एक थान भरुवा बन्दुकसमेत बरामद गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार