अरुण तेस्रो जलविद्युत परियोजनाको पावर हाउसमा बम विष्फोट


विराटनगर । नेपाल प्रहरीको सुरक्षा घेरा भित्र रहेको बहुप्रतिक्षित अरुण तेस्रो जलविद्युत परियोजनाको पावर हाउसमा बिहीबार राति अज्ञात समूहले तीनवटा बम विष्फोट गराएको छ । प्रहरीले अहिलेसम्म कुन बम विष्फोट गराइएको हो भन्ने यकिन गरिसकेको छैन ।पूर्वी पहाडको संखुवासभा जिल्लामा नौ सय मेगावाट विद्युत उत्पादन गर्ने गरी यो परियोजनाको निर्माण भारतीय सतलज कम्पनीले गरिरहेको छ । संखुवासभाको चिचिला गाउँपालिका–३ पुखुवामा रहेको परियोजनाको पावर हाउस विद्युत उत्पादन गृह मा राति अन्दाजी ८ः३० बजेतिर तीनवटा बम विष्फोट गराइएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

पावर हाउसबाट लगभग डेढ सय मिटर पर विष्फोट गराइएको बताउँदै कार्यालयले घटनाको अनुसन्धानका लागि सिनियर प्रहरी अधिकृतकै नेत्रृत्वमा टोली परिचालन गरिएको जनाएको छ । विष्फोटबाट सुरुङ् खन्ने मेसिन र एउटा जेनेरेटरमा क्षति पुगेको प्रारम्भिक जानकारी आए पनि घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले विष्फोट गराउनेको पहिचान गर्न सकेको छैन । प्रहरीका एक अधिकृतले विष्फोट गराउनुको उदेश्य थाहा नभएको भन्दै घटनामा संलग्नको खोजी भइरहेको जनाए ।

२०७४ सालको माघमा पनि त्यहीं विष्फोट गराइएको थियो । त्यतिबेला पावर हाउसको भवनका दुईवटा कोठामा क्षति पुगेको थियो । घटनाको एक वर्षपछि फेरी अर्को विष्फोट गराइएको हो । एक वर्ष अघि गराइएको विष्फोटमा संलग्नको पहिचान हुन नसिकरहेको बेला पुनः अर्को पटक विष्फोट गराइँदा बहुप्रतिक्षित परियोजनाको सुरक्षा सवालमा प्रश्न चिन्ह खडा भएको छ । तीन वर्ष अघि पनि नेत्रबिक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेपाल कम्युनिष्ट पार्टीले सोही ठाउँमा रहेको परियोजनाको भवनमा आगजनी गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार