पशुपतिनगर । इलाम चुलाचुली गाउँपालिका–२ स्थित चाजु खोलामा निर्माण भएको पुल भत्किँदा स्थानीयवासीले सास्ती खेप्न बाध्य भएका छन् । विसं २०७३ वैशाखबाट निर्माण शुरु भएको पुल २०७४ जेठमा सम्पन्न भएको थियो । पुल निर्माण भएको तीन महीनामा पूरै भत्किएपछि जनताले समस्या भोग्न बाध्य भएको गाउँपालिका अध्यक्ष प्रदीपचन्द्र राईले बताउनुभयो । उहाँले भन्नुभयो, “हिउँदमा खोलामा पानी नभए पनि वर्षात् लाग्न थालेपछि जनताले समस्या भोग्नुपर्ने भएकाले पुनः पक्की पुल निर्माणका लागि पहल गरिरहेका छौँ । ”
चुलाचुलीमा सानाठूला करीब एक दर्जन खोला भए पनि चाजु खोला गाउँपालिकाको केन्द्र जाने बाटोमा पर्ने भएकाले त्यहाँ पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको स्थानीवासी उद्धव न्यौपानेले बताउनुभयो । गलत इस्टिमेटका कारण सो पुल भत्किएको उहाँले जानकारी दिनुभयो । पुलको जग इस्टिमेटमा तीन मिटर मात्रै बनाइएकाले वर्षात्को पहिलो बाढीले नै भत्काएको स्थानीयवासी बताउँछन् ।
इलाम पहाडी क्षेत्र भनेर पुलको पिल्लरको जग तीन मिटर मात्रै राखेर इस्टिमेट बनाउँदा पुलको जग नै बलियो नभएको वडा नम्बर ३ का अध्यक्ष नरेन्द्र लावतीले बताउनुभयो । उहाँले भन्नुभयो, “चुलाचुली गाउँपालिका समथर भूभाग भए पनि खोलाको बीचमा पुल बनाएका कारण पहिलोचोटी नै बाढीले भत्किएको हो ।” नवनिर्मित पुल २०४ मिटर लम्बाइको भए पनि अहिले पुलको एउटा टुक्रा मात्रै देखिन्छ । झोलुङ्गे पुल महाशाखा काठमाडौँको रु ७३ लाख बजेटमा सो पुल निर्माण भएको थियो ।
चुलाचुली गाउँपालिकाको वडा नं ३, ४, ५ र ६ का बासिन्दालाई गाउँपालिकाको कार्यालयसम्म पुग्नका लागि निर्माण भएको पुल भत्किएरपछि यसपालिको वर्षात्मा कसरी खोला पार गर्ने भन्ने चिन्ता स्थानीयवासीको छ । वर्षौंको अथक प्रयासपछि निर्माण भएको पुल एक वर्षमै भत्किएपछि जनताको विकासको आशा सकिएको स्थानीयवासी बताउँछन् । पुल नहुँदा गाउँपालिकाको एकमात्र जनता मावि पढ्ने विद्यार्थी वर्षात्मा कसरी विद्यालय जोने भन्नेमा झनै चिन्तामा छन् । जनता माविमा अध्यनरत राजेन्द्र खनाल भन्नुहुन्छ, “वर्षात्का बेला खोलामा पुल नहुँदा धेरै दिन पढाइ छोड्नुपर्ने दिन आउँदैछ ।”