नेविसंघद्धारा गगन थापालाई कालो झण्डा


पोखरा,२१ माघ। नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाविरुद्ध उनकै पार्टीको भातृसंस्था नेविसंघका कार्यकर्ताले सोमबार पोखरामा कालो झण्डा देखाएका छन् ।सरकार विरोधी आन्दोलनका क्रममा नेविसंघले पोखरा महानगरपालिकाको गाडी शनिबार जलाएको थियो । उक्त घटनाको गगनले निन्दा गरेका थिए । घटनापछि नेविसंघका ५ जना कार्यकर्ता प्रहरी नियन्त्रणमा पनि छन् ।

नेविसंघले गरेको कार्यप्रति समर्थन जनाउनुको साटो निन्दा गरेको विरोध स्वरुप उनीहरुले गगनविरुद्ध कालो झन्डा देखाएका हुन् । गगन कांग्रेसले सरकार विरुद्ध सोमबार आह्वान गरेको देशव्यापी प्रदर्शनका क्रममा पोखराको चिप्लेढुंगामा सभालाई सम्बोधन गर्दै थिए ।

उनले सम्बोधन गरिरहेकै बेला नेविसंघ कास्कीका एक अगुवा विकास थापाको समूहले कालो झन्डा देखाएको थियो । विकास स्वयंले दाहिने हातमा नेविसंघको रातो र अर्कोमा कालो झण्डा देखाएका थिए । नेविसंघ जिन्दावाद, पक्राउ परेका साथीलाई तुरुन्त रिहा गर लगायत नारा विकास थापा समूहले लगाएको थियो । उनले गगनबाट व्यक्त धारणा पनि फिर्ता लिनुपर्ने र माफी माग्नुपर्ने बताएका थिए । सरकारी गाडीमा आगजनी आरोपमा नेविसंघका लक्ष्मीप्रसाद पौडेल, परशुराम बस्नेत, राजेन्द्र बराल, डिफान भुजेल र विनय पौडेल प्रहरी हिरासतमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार