राजनीतिक दलबीच सहकार्य आवश्यक छ : मुख्यमन्त्री


लमही, १९ माघ । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले विकासका लागि सबै राजनीतिक दलबीच सहकार्य गरेर विकास निर्माणमा लाग्न आवश्यक रहेको बताउनुभएको छ ।

दाङको बङ्गलाचुली गाउँपालिकाको चौथो गाउँसभालाई आज सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले अहिलेको अवस्थामा राजनीतिक दलहरु सत्ता र प्रतिपक्षको भूमिकामा रहनेभन्दा पनि सहकार्य गरेर विकास निर्माणको कार्यलाई अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो ।

“मुलुक समृद्धिको मार्गमा अगाडि बढिसक्यो, अब पनि हामीले राजनीतिक लडाइँमै निरन्तरता दियाँै भने मुलुकलाई समृद्धि बनाउन सकिँदैन्,” उहाँले भन्नुभयो, “त्यसैले अहिलेको अवस्थामा राजनीतिक पार्टीहरु सत्ता र प्रतिपक्षको भूमिकामा भन्दा पनि विकासका लागि सहकार्य गर्न आवश्यक छ ।”

जुन पार्टीले चुनाव जिते पनि पाँचवर्षे कार्यकालमा सबै राजनीतिक दलले विकासलाई साझा मुद्दा बनाएर अघि बढेमा नेपाललाई समृद्ध बनाउन सकिने बताउनुभयो । अहिले मुलुक सङ्क्रमणकालीन अवस्थामा रहेको भन्दै तीनै तहको सरकारले कानून निर्माणलाई पूर्णता नदिँदासम्म परिवर्तन संस्थागत हुन नसक्ने समेत बताउनुभयो ।

फरक प्रसङ्गमा बङ्गलाचुली गाउँपालिका दाङको विकट क्षेत्रमा पर्ने भएकाले यस क्षेत्रको विकासका लागि प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो । प्रदेश सरकारले दाङका विकट बस्तीका नागरिकले परिवर्तनको अनुभूति गर्ने गरी काम गर्नेसमेत उहाँको भनाइ थियो ।

गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीको अध्यक्षतामा गाउँसभाको उद्घाटन गरिएको हो । गाउँसभाले आइतबार केही परिमार्जित नीति तथा कार्यक्रम र पाँच वटा विधेयक पास गर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार