खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मनमायाँ राई खानीडाँडा बिमानस्थल मर्मतको काम गुणस्तरयुक्त गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ । गत जेठ १ गतेको भारी वर्षाका कारण ड्रेन ९ढल० थुनिएपछि रन–वेमा जमेको पानी फुटेर बाहिरिँदा बिमानस्थलको डिलको माटो कटान सुरु भएपछि उच्च जोखिममा परेको बिमानस्थल मर्मतको काम गुणस्तरहिन भएको भन्दै नगरपालिकाले बिहिबार ठेकेदार कम्पनीलाई गुणस्तरयुक्त काम गर्नका लागि निर्देशन दिएको हो । बिमानस्थल मर्मतको काम अनुगमनमाक्रममा चरम ढिलासुस्तीका साथै आरसिसि ढलानको काममा प्रयोग गरिएका बालुवा र गिटी न्यून गुणस्तरको प्रयोग गरिएको पाइएकाले ठेकेदार कम्पनी कान्छाराम कन्ट्रक्सनलाई गुणस्तरको मापदण्ड पूरा गर्न निर्देशन दिइएको मेयर दिपनारायण रिजालले बताए ।
नगरपालिकाले बिमानस्थल मर्मतको काममा लागत अनुमान अनुशारको गुणस्तरयुक्त निर्माण सामग्री प्रयोग गर्न निर्देशन दिएको जनाएको छ । भारी वर्षाका कारण माटो कटान हुँदा जोखिममा परेको बिमानस्थल मर्मतमा चरम ढिलासुस्तीका साथै निर्माणका काममा माटो मिसिएको बालुवा र गिटी प्रयोग भइरहेको पाइएको नगरपालिकाले जनाएको छ । ढिलासुस्ती र गुणस्तरहीन काम भएको भन्दै जनगुनासो आएपछि प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेल नेतृत्वको टोलीले मंसिर १९ गते अनुगमन गरेको बिमानस्थल मर्मतको कामलाई नगरपालिकाले माघ ३ गते अनुगमन गरेको थियो । बिमानस्थल भन्दामाथिबाट झर्ने वर्षाको भलपानीलाई कटाउनका लागि बिमानस्थलको रन–वेमुनि राखिएको ड्रेनको मुख थुनिँदा बाहिरिएको भलपानीले बिमानस्थलको एक भाग भासिएपछि उसबेलादेखि हालसम्मै खानीडाँडा विमानस्थलमा उडान अवरुद्ध छ ।
अवरुद्ध बिमानस्थल तत्काल मर्मतमा लामो समयसम्म ध्यान नदिइएको तथा ढिलागरी सुरु भएको मर्मतका काममा समेत ठेकेदारको ढिलासुस्ती हुँदा जिल्लाबासी आजित छन् । बिमानस्थलको कुनाबाट पानी निकास हुने नालीमा आरसिसि ढलान र बिमानस्थल भन्दामुनि पर्खाल लगाउने ठेक्का लिएको ठेकेदार कम्पनी कान्छाराम कन्ट्रक्सनले काममा ढिलाइ गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर रिजालले बताए ।
करिब ७ करोडमा बिमानस्थलमा झर्ने भलपानी निकासका लागि रन–वेमुनि बिछ्याइएको नाली मर्मतकाक्रममा एक हजार घनमिटर आरसिसि ढलान गर्ने र नालीबाट निकास जाने खोलासम्म पर्खाल लगाउने कामको ठेक्का लागेको हो । ढल पसेर बिग्रिएको धावनमार्गको बीच भागदेखि डिलसम्मको नालीमा आरसिसि ढलान गर्ने, त्यसमाथि सम्याएर कालोपत्रे गर्ने, खोलामा ग्याभीन तथा मेसिनरी वाल हाल्ने लगायतका कामको ठेक्का कान्छाराम कन्ट्रक्सनले लिएको हो । आगामी असारसम्म कामको म्याद भएकाले बाँकी समयमा काम पूरा गर्ने ठेकेदार कम्पनी कान्छाराम कन्ट्रक्सनले जनाएको छ ।
जमिन भिजेर माथिबाट खसेको स्ल्यावले ड्रेन थुनिँदा रन–वेमाथिबाटै निकासा भएको पानीले बिमानस्थलको दक्षिणीतर्फका डिल कटान गरेको छ । रन–वेमा भरिएर किनाराबाट निकास भएको भलपानीले बिमानस्थलको १०÷१५ मिटर डिल भासिनुका साथै फिलिङ माटो बगाएको छ । कटानका कारण बिमानस्थलको रन–वेभन्दा २÷३ मिटर नजिकसम्मको भाग भासिएको छ ।
भलपानीका कारण छेउबाट भासिन सुरु गरेको पहिरोले बिमानस्थलबीचको रन–वेको सेतो मार्किङसम्म चर्किएको छ । कलभर्ट थुनिएपछि धावनमार्गहुँदै बगेको भलपानीको कटानका कारण बिमानस्थलको दक्षिणी भाग भत्किन थालेको छ । कलभर्ट थुनिएपछि बिमानस्थलमुनीबाट निकासा हुनुपर्ने भलपानी सिधै धावनमार्गहुँदै बिमानस्थलको छेउबाट बाहिर निकासा हुने गरेको छ । माटो कटान रोक्ने नाममा बिमानस्थलको डिलमा बाँसको भाटा हालेर खेलाँची गरेको पाइएको छ ।
वर्षाको भलपानी निकासाका लागि टावर नजिकै राखिएको कलभर्ट थुनिँदा बिमानस्थल कटान भएको यो दोश्रो पटक हो । यसअघि, भलपानीले बगाएर झरेको माटोले कल्भर्ट थुनिँदा २०६९ साल साउनमा धावनमार्ग माथिबाट बगेको भलपानीले बिमानस्थलको डिल कटान भएको थियो ।