संखुवासभा, १७ माघ ।अनिल स्मृति खुल्ला साविक वडा स्तरीय पुरुष भलिबल तथा १५ किलोमिटर मिनी म्याराथुन प्रतियोगितामा बिहिबार ४ खेल भएका छन् । पहिलो खेलमा ताम्कु–३ लाई हराउँदै बाला–१ ले विजयी हाँसिल गरेको छ । यस्तै बाला–२ बीलाई सिसुवा खोला–१ ले पराजित गरेको छ, भने बाला–२ एले ताम्कु–८ लाई पराजित गरेको हो । आजै भएको अन्तिम खेलमा सिसुवाखोला–९ लाई हराउँदै सिसुवा खोला–१ ले विजय हासिल गरेको हो ।
बुधबार भएको उद्घाटन खेलमा अविभावकलाई कर्मचारी समूहले पराजित गरेको थियो । साबिक वडा स्तरीय प्रतियोगितामा १८ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।
बुधबार भएको १५ किलोमिटर मिनी म्याराथुनमा सभापोखरी गाउँपालिका–६ का नवीन गुरुङले प्रथम स्थान हासिल गरेका छन् । उनले १ घण्टा ११ मिनेटमा दूरी पार गरेका थिए । यस्तै शिलिचोङ–४ का मनराज राईले १ घण्टा ४ मिनेटमा दूरी पार गर्दै दोस्रो स्थान हासिल गरेका हुन् । यस्तै शिलिचोङ–२ का उत्तर कुमार राईले १ घण्टा ४ मिनेटमा दूरी पार गर्दै तृतीय स्थान हासिल गरेका थिए । प्रतियोगितामा ३७ जना धावकले धावनमा प्रतिस्पर्धा गरेका थिए ।
म्याराथुनका विजेताले क्रमशः १० हजार पाँच, ७ हजार ५ र ४ हजार ५ रुपैंया साथमा मेडल तथा प्रमाण पत्र प्राप्त गर्नेछन् । भलिबल खेलका विजेताले २० हजार ५, १५ हजार ५, ९ हजार ५ र सान्त्वनाले ६ हजार ५ रुपैंया साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी र नवप्रतिभाले जनही १ हजार ५ रुपैंया साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
“पर्यटन, विकास र स्वास्थ्यको लागि खेलकुद” भन्ने नाराका साथ याम्दाङ समाज विकास समिति, शिलिचोङ गाउँपालिका–२ बालायाम्दाङले प्रतियोगिताको आयोजना गरेको हो । सिलिचोङ गाउँपालिका–२ बालाका अग्रज भलिबल खेलाडी स्वर्गीय अनिल अधिकारीको सम्झनामा प्रतियोगिता गरिएको हो । प्रतियोगिता २० गते सम्पन्न हुनेछ ।