सडकमै शव राखेर प्रदर्शन ,निषेधाज्ञा टेरेनन् स्थानीयले


बिराटचोक । स्थानीय प्रशासनले मोरङको विराटनगर–विराटचौक सडक खण्ड अन्तर्गत सुन्दरहरैंचा नगरपालिकाको विराटचौकदेखि बेलेपुरसम्मको लगभग साढे तीन किलोमिटर क्षेत्रमा जारी गरेको निषेधाज्ञालाई स्थानीय बासिन्दाले उल्लंघन गरेका छ । टिपरको ठक्करबाट बालिकाको मृत्यु भएको घटनाले उग्ररुप लिएपछि साढे तीन किलोमिटर क्षेत्रलाई लक्षित गरेर विहान ११ः१५ बजेबाट निषेधाज्ञा जारी गरिएको थियो । यस विषयमा थप निर्णय लिनका लागि जिल्ला सुरक्षा समिति मोरङको आपतकालिन बैठक विराटनगरमा बसिरहेको छ । निषेधाज्ञाको कुनै पनि प्रवाह नगरिकन आक्रोसित बनेका स्थानीय बासिन्दाले भने टिपरको ठक्करबाट मृत्यु भएकी बालिकाको शव सडकमै राखेर प्रदर्शन गरिरहेका छन् । उनीहरुले शव उठाउन अस्वीकार गर्दै प्रदर्शन र नारावाजीलाई जारी राखेका छन् । ठाउँठाउँमा टायर बालेर गरिएको प्रदर्शनले स्थिती थप तनावपूर्ण बन्दै गएको छ ।

सुन्दरहरैंचा नगरपालिकाको सिसौघारी र बेलेपुरमा प्रदर्शन गरिरहेको एउटा समूहले विराटचौक पुगेर बजार र पसल बन्द गराउन थालेको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत विराटचौक सडक खण्ड बन्द गरिएको छ । त्यहाँ एम्बुलेन्स बाहेक कुनै पनि सवारी साधन संचालन गर्न दिइएको छैन । मुख्य राजमार्गमा प्रहरीले सडक खुलाउने र सवारी आवगामन नियमित बनाउने प्रयास गरिरहे पनि त्यो सफल हुन सकेको छैन ।

घटनाको विरोधमा आक्रोसित बनेर आन्दोलनमा उत्रिएका स्थानीय बासिन्दाले अहिलेसम्म ११ वटा टिपरमा आगजनी गरिसकेको बताए पनि प्रहरीले त्यसलाई पुष्टि गरेको छैन । प्रहरीले भने अहिले सम्म सातवटामा मात्रै आगजनी गरिएको विवरण प्राप्त भएको जनाएको छ । आगजनी गरिएको ठाउँमा आगो निभाउन भनेर विभिन्न ठाउँबाट पुगेका दमकल स्थानीय बासिन्दाको अवरोधका कारण घटनास्थलमा पुग्न सकिरहेका छैनन् । टिपरमा आगो दन्किरहँदा स्थानीयले प्रदर्शन उग्र बनाउँदै लगेपछि बेलेपुर र सिसौघारी रणमैदान बनेको छ । अन्य सवारी साधनमाथि आगजनीको घटना हुन सक्ने भन्दै प्रहरीले आन्दोलनकारीलाई रोक्ने प्रयास भने गरिरहेको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले विराटचौक, सिसौघारी, बेलेपुर र आसपासका क्षेत्रलाई लक्षित गरेर सोमबार विहान ११ः१५ बजेबाट निषेधाज्ञा जारी गरिएको बताए । प्रजिअ केसीले जिल्ला सुरक्षा समितिको बैठक जारी रहेको र निषेधित क्षेत्रमा अझै पनि प्रदर्शन नरोकिएका कारण स्थानीय प्रशासनले यस विषयमा थप निर्णय लिन सक्ने जानकारी दिए । उनले स्थिती थप तनावपूर्ण बन्दै गए कफ्र्यू आदेश नै जारी गर्नु पर्ने पनि हुन सक्ने शंकेत गरे । ‘हामी स्थिती कस्तो हुन्छ भन्ने कुरा हेरेर बसिरहेका छौं,’ उनले भने, ‘स्थित थप तनावपूर्ण र भीड अराजक बन्दै गएमा बाँकी कदम पनि चाल्नु पर्ने स्थिती आउन सक्छ ।’

स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका बारेमा प्रहरीले माईकिङ गरेर जानकारी गराएको थियो । तर आक्रोसित स्थानीय बासिन्दाले उक्त क्षेत्र छाडन् मानिरहेका छैनन् । उनीहरुले निषेधित क्षेत्रमा निरन्तर प्रदर्शन गरिरहेका छन् । टिपर आतंक रोक्नु पर्ने माग गर्दै सुरु भएको प्रदर्शनका क्रममा टिपरलाई स्थानीय प्रशासन र प्रहरीकै मिलेमतोमा संरक्षण गरिएको आरोप लगाइएको छ । प्रजिअ केसीले निषेधित क्षेत्रमा कुनै पनि क्रियाकलाप गर्न नपाइने व्यवस्था कानुनमा रहेको जानकारी दिए । ‘कुनै पनि गतिविधी र क्रियाकलाप गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरिएको छ । जेसुकै भए पनि त्यहाँबाट स्थानीय बासिन्दा पछि हट्नुको विकल्प छैन,’ केसीले भने, ‘नमानेमा स्थानीय प्रशासनले बल प्रयोग गर्छ । त्यसबाट जस्तो सुकै पनि परिस्थिती उत्पन्न हुन सक्ने बुझेर आन्दोलनमा उत्रिएकाहरु पछि सर्दा राम्रो हुन्छ ।’

मोरङको सुन्दरहरैंचा नगरपालिका ९ सिसौघारीमा टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि त्यहाँको अवस्था तनावग्रस्त बनेको हो । विराटचौकबाट हरैंचातर्फ आउँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरले ठक्कर दिंदा सोमबार विहान ८ः४५ बजे सुन्दरहरैंचा ९ की ११ वर्षीय बालिका लक्ष्मी ढकालको घटनास्थलमै मृत्यु भएको थियो । उनको टाउको क्षतविक्षत बनेको छ । उनको शवलाई भने सडकमै कपडाले छोपेर स्थानीयले प्रदर्शन थालेका हुन् । प्रहरीका अनुसार तीव्र गतिमा रहेको टिपरले बाटो काट्दै गरेकी बालिकालाई ठक्कर दिएको थियो ।

बालिकालाई ठक्कर दिए लगत्तै आक्रोसित बनेका स्थानीय बासिन्दाले उक्त टिपरमा आगजनी गरेका थिए । आगजनीबाट टिपरमा पूर्ण रुपमा क्षति पुगेको छ । सिसौघारीमा भएको दुर्घटनापछि आक्रोसित बनेका स्थानीय बासिन्दाबाट छल्लिन भाग्दै गरेको सोही टिपर बेलेपुर चौक नजिकै पुगेर सडक छेउको एउटा रुखमा ठोक्किएर दुर्घटनामा परेको थियो । दुर्घटनामा परे लगत्तै स्थानीयले टिपरमा पेट्रोल छर्किएर आगो लगाएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामप्रसाद राईले जानकारी दिए । उक्त टिपरका चालक र टिपरका अन्य कर्मचारी भने अहिलेसम्म सम्पर्कमा नरहेको जनाइएको छ ।

दुर्घटनापछि स्थानीय बासिन्दाले सडकमा गुडिरहेका अन्य टिपरमा पनि आगजनी गर्न थालेका थिए । अगजनी गरिएका मध्ये अहिले सम्म को १ ख ५८३३ नम्बरको टिपरको मात्रै नम्बर खुलेको छ । आगजनी गरिएका सबै टिपर जलेर पूर्ण रुपमा ध्वस्त भएका कारण नम्बर प्लेट पनि नचिनिने अवस्थामा रहेको प्रहरीले जनाएको छ । आगजनी गर्ने क्रम नरोकिएपछि र आक्रोसित बनेका स्थानीयको आन्दोलन थप उग्रबनेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो । दुर्घटना लगत्तै विराटचौक –विराटनगर सडक खण्डको बेलेपुर र सिसौघारीमा स्थानीय बासिन्दाले नाराजुलुस र प्रदर्शन गरिरहेका छन् ।

विराटनगरबाट विराटचौक र विराटचौकबाट विराटनगरतर्फ कुनै पनि सवारी साधन चल्न दिइएको छैन । स्थानीय बासिन्दाले टिपर आतंक रोक्नु पर्ने माग गर्दै प्रदर्शन थालेपछि सुरु भएको आन्दोलन आगजनी र तोडफोडसम्म पुगेपछि भने स्थित असामान्य बनेर गएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए । स्थानीय बासिन्दाले घटनास्थलमा जान खोजेको प्रहरीमाथि समेत ढुँगामुडा गरेका थिए । स्थानीयको अवरोधका कारण घटनास्थलमा दुई घण्टा सम्म प्रहरी पुग्न सकेन । प्रहरी पुग्न नसक्दा त्यहाँको सडकमा गुडिरहेका टिपरसंगै अन्य सवारी साधनलाई पनि आक्रोसित बनेकाहरुले निशाना बनाएका थिए ।

लापरवाहीका कारण टिपर आतंक बढेको भन्दै स्थानीय बासिन्दाले प्रहरी र प्रशासन विरुद्ध अहिले पनि चर्का नारावाजी गरिरहेका छन् । आक्रोसित भीडलाई नियन्त्रणमा लिन जान खोजेको प्रहरी उक्त सडक खण्डको उत्तर र दक्षिणमा रोकिएर बस्नु परेको थियो । प्रहरीलाई घटनास्थलमा जान नदिइकन स्थानीयले दुर्घटना गर्ने ट्रकमा आगजनी र अन्य ट्रकमा तोडफोड गरेका हुन् । ‘स्थानीय बासिन्दा आगजनी र ढुँगामुडामा उत्रिएका छन् ।त्यो क्रम अझै पनि जारी छ,’ घटनास्थलमा रहेका एक प्रहरीले भने ‘बल्लबल्ल घटनास्थलमा पुग्न सकियो । माहोल थप असान्त बनेर गएको छ ।’

घटनास्थलमा पुगेका एक÷दुई जना प्रहरीलाई समेत स्थानीय बासिन्दाले लखेटेका थिए । विराटनगरमा रहेको जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय बेलबारी, पथरी, उर्लाबारी लगायतका स्थानबाट खटाइएको ठूलो संख्याको प्रहरी टोली समेत लामो समय सम्म घटनास्थलमा पुग्न सकेन । स्थानीय बासिन्दाले प्रहरी केन्द्रीत ढुंगामुडा गरिरहँदा तत्काल प्रहरी पुग्न नसकेपछि टिपरमा आगजनीको घटना धेरै भएको र त्यहाँबाट ठूलो क्षति हुन पुगेको बताइएको छ । विभिन्न ठाउँ हुँदै प्रहरीको विभिन्न ठाउँबाट खटाइएको टोली घटनास्थलमा पुगे पनि प्रहरीले स्थितीलाई भने अहिलेसम्म नियन्त्रणमा लिन सकेको छैन । घटनास्थलमा नेपाल र सशस्त्र प्रहरी ठूलो संख्यामा परिचालन गरिएको भए पनि स्थिती नियन्त्रणमा बाहिर रहेको बताइएको छ । डीएसपी श्रेष्ठले स्थितीलाई नियन्त्रणमा लिने प्रयास भइरहेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार