लागु औषधसहित सात जना पक्राउ


मोरङ । मोरङ र उदयपुरबाट लागुऔषधसहित सात जनालाई एकै पटक प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सबै ३६ वर्ष मुनीका छन् ।
मोरङको विराटनगर महानगरपालिका १५ बाट प्रहरीले लागुऔषध लुपिजेसिक नौ एम्पुल, फेनारगन नौ एम्पुल, एभिल नौ एम्पुल, डाईजेल्याब नौ एम्पुल र नाइट्रोसन १० चक्कीसहित १८ वर्षीय पप्पु मेहतालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका ८ घर भएका मेहतालाई भारतको जोगवनीबाट लागुऔषध लिएर आउँदै गर्दा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक ईन्द्रबहादुर रानाले बताए । मेहतालाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै उदयपुरको चौदण्डीगढी नगरपालिका ३ काली खोला किनारबाट लागुऔषध सहित छ जना पक्राउ परेका छन् । उदयपुर बेलाका नगरपालिका ४ गुरुङचौरीका ३३ वर्षीय राजु कार्की, ३२ वर्षीय राजु राई , ३३ वर्षीय अर्जुन राई, २५ वर्षीय नवीन राई, चौडण्डीगढी ३ बसाहाका ३० वर्षीय मीनबहादुर मगर र सप्तरीको सप्तकोसी नगरपालिका १ का ३६ वर्षीय मनोज मगर पक्राउ परेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले खोलाको किनारमा शंकास्पद अवस्थामा बसिरहेको भेटेपछि चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट लागुऔषध बरामद भएको हो ।

पक्राउ परेकाहरुको साथबाट लागुऔषध लुपिजेसिक आठ एम्पुल, फेनारगन आठ एम्पुल र डाईजेल्याब आठ एम्पुल बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार