एकीकृत पार्टीमा दुई अध्यक्ष र २९९ केन्द्रीय सदस्यः यी हुन् टुंगिन बाँकी तीन विषय


काठमाडौं । एमाले र माओवादी एकीकरणपछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको विधान मस्यौदा तयार भएको छ । आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

दुई अध्यक्षले आलोपालो प्रणालीबाट एकीकृत पार्टीको नेतृत्व सम्हाल्ने गरी २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी रहने विधान मस्यौदा तयार भएको हो ।

१६ अध्याय र ७८ धारा रहेको विधान मस्यौदालाई तीन विषयबाहेक संगठन तथा विधान मस्यौदासम्बन्धी कार्यदलले बुधबार टुंगो लगाएको हो । गृह मन्त्रालयमा बसेको कार्यदलको बैठकले विधानलाई पार्टी एकता संयोजन समितिलाई बुझाउने गरी अन्तिम रूप दिएको कार्यदलका सदस्य बेदुराम भुसालले बताए ।

‘थोरै पृष्ठभूमि लेखेर अब पार्टी एकता संयोजन समितिलाई अन्तिम प्रतिवेदन बुझाइनेछ,’ नेता भुसालले भने, ‘केही विषय सकिनेबित्तिकै अब ऐतिहासिक एकता प्रक्रियाको घोषणा हुनेछ ।’

एकीकृत पार्टीमा ३३ सदस्यीय स्थायी समिति, ९९ सदस्यीय पोलिटब्युरो र करिब ८ सय सदस्यीय राष्ट्रिय परिषद् सदस्य रहनेछन् । दश तहको संरचनामा बाँडिएको कमिटी हुनेछ । महानगर, उपमहानगर र गाउँपालिका कमिटीको हैसियत समान रहनेछ ।


टुंगिन बाँकी तीन विषय
१। जनयुद्ध राख्ने कि नराख्ने
विधान मस्यौदाको प्रस्तावनामा ‘जनआन्दोलन र जनक्रान्तिका उपलब्धि’ लेखिए पनि ‘जनयुद्ध’ शब्द राख्ने कि नराख्ने विषय टुंगिएको छैन । ‘जनक्रान्ति’ लेखिसकेपछि ‘जनयुद्ध’को भाव समेट्ने एमालेको अडान छ भने माओवादीले ‘जनयुद्ध’ शब्द नै राख्नुपर्ने तर्क गरिरहेको छ ।

२। सूर्य कि सूर्यभित्र हँसिया–हथौडा रु
माओवादी नेताहरूले सूर्यभित्र हँसिया–हथौडा राखेर चुनाव चिह्न बनाउनुपर्ने अडान राखेका छन् । तर, एमाले नेताहरूले भने सूर्य चिह्न मात्रै राख्नुपर्ने तर्क गरेका छन् । ०४८ देखि जनस्तरमा परिचित भएकाले सूर्य चिह्न बढी प्रभावकारी हुने एमाले नेताहरूको भनाइ छ ।

३। बाँडफाँड कुन अनुपातमा रु
दुई पार्टीका भागबन्डा कुन अनुपातमा गर्ने भन्ने टुंगो लागेको छैन । माओवादीले समानताको आधारमा एकीकरण हुनुपर्ने बताएको छ भने एमालेले बढीमा ६०–४० को अनुपातमा एकीकरण गर्न सकिने बताएको छ । यो विषयमा कार्यदल तहमा छलफल नै भएन । यसको टुंगो लगाउन दुई अध्यक्षबीच अनौपचारिक छलफल जारी छ । तर, दुवै पार्टी आ–आफ्नै अडानमा छन् ।

विवाद टुंग्याउन दुई नेतालाई जिम्मा
बुधबार बसेको कार्यदलको बैठकले ‘जनयुद्ध’ शब्द र चुनाव चिह्नमा उठेको विवाद मिलाउन एमाले महासचिव ईश्वर पोखरेल र माओवादी नेता बादललाई जिम्मा दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार