
१८ फागुन ।एक विवाहित महिलाले परपुरुषसँगको प्रेम सम्बन्ध लुकाउन आफ्नै पतिको हत्या प्रयास गरेको खुलासा भएको छ ।पर्साको विन्दवासिनी गाउँपालिका–३ झौवाटोल स्थायी घर भई हाल वीरगन्ज रानीघाट बस्दै आएका ३५ वर्षीय उमेशप्रसाद चौरसियाकी श्रीमती प्रियंका चौरसियाले बुधबार राति आफ्नो प्रेमी विकेन्द्रकुमार गुप्तासँग मिलेर श्रीमान् उमेशको गोली प्रहार गरी हत्या गर्न लगाएको खुलासा भएको हो ।
आफ्नै श्रीमती प्रियंकाकै योजनाअनुसार उमेशको हत्याको प्रयास गरिएको खुलेपछि प्रहरीले उपचारका क्रममा उमेशसँगै काठमाडौं पुगेकी प्रियंकालाई बिहीबार बिहान काठमाडौंबाट पक्रेर जहाजमार्फत वीरगन्ज ल्याएको हो ।
प्रेमीसँगको सम्बन्धलाई निरन्तरता दिन उमेशकी श्रीमती प्रियंकाले प्रेमीलाई लगाएर हत्या गर्ने प्रयास स्वरूप बुधबार राति घर फर्कने क्रममा गोली हान्न लगाएकी थिइन् । जिल्ला प्रहरी कार्यालय पर्साबाट करिब एक सय मिटर पश्चिममा रहेको भारतीय महावाणिज्य दूतावास पछाडिको सडकमा मोटरसाइकलमा सवार रहेका दुई जना युवकले उमेशमाथि गोली प्रहार गरेका थिए । उमेशको दाहिने कोखामा गोली लागेको छ ।वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि बुधबार नै काठमाडौं लगिएको छ । कोखामा करिब ४०/४५ वटा गोलीको छर्रा लागी घाइते भएका चौरसियाको काठमाडौंको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । घाइते चौरसियाको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा अत्यधिक रक्तस्राव हुनाका साथै रक्तचापसमेत अनियन्त्रित हुँदै गएपछि थप उपचारका लागि काठमाडौं रेफर गरिएको नारायणी उपक्षेत्रीय अस्पताल प्रशासनले जनाएको छ ।
१० वर्ष वैदेशिक रोजगारी गरी स्वदेश फर्किएर धागोको व्यापार गर्दै आएका उमेशमाथि व्यापारको सिलसिलामा बुटवल गएर घर पर्किने क्रममा गोली प्रहार गरिएको थियो ।उमेश वैदेशिक रोजगारीबाट स्वदेश फर्किएपछि उनको हत्या गरी आफूहरूको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने नियतले प्रियंका र विकेन्द्रले उमेशको हत्या गर्ने योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यही योजनाअनुसार उमेशकी श्रीमती प्रियंका र विकेन्द्रले उमेशको हत्या गर्न मनोज गुप्तालाई एक लाख रुपैयाँको सुपारी दिएका थिए । त्यसमध्ये तत्काल उनीहरूले मनोजलाई २५ हजार रुपैयाँ नगद दिएको र त्यही रकमबाट मनोजले ११ हजार रुपैयाँमा १२ बोरको नलकटुवा पेस्तोल र एक राउन्ड गोली खरिद गरेका थिए ।
गोली प्रहार गर्ने वीरगन्ज १२ मुर्लीका २५ वर्षीय मुन्ना साह, बाराको परवानीपुर गाँउपालिका–१ का २७ वर्षीय मनोज गुप्ता, उमेशकी श्रीमती प्रियंका र प्रियंकाका प्रेमी बाराको परवानीपुर–१ का २४ वर्षीय विकेन्द्रकुमार गुप्तालाई प्रहरीले पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ ।
बुटवलबाट घर फर्किंदै गरेका उमेश बुधबार राति वीरगन्जमा आएको जानकारी पाएलगत्तै उनकी श्रीमती प्रियंकाले मनोजलाई टेलिफोन गरेर जानकारी गराएकी थिइन् । जिल्ला प्रहरी कार्यालय छेउको भारतीय महावाणिज्य दूतावास नजिकको गल्ली हुँदै उमेश घरतर्फ पैदल जाँदै गरेका बेला विकेन्द्रको ना३४प १०३ नम्बरको मोटरसाइकल लिएर मनोज र मुन्नाले उमेशलाई पछ्याएका थिए । उमेश आफ्नो घरबाट ५० मिटरको दूरीमा पुगेका बेला मोटरसाइकलको पछाडि सवार मुन्नाले पेस्तोल उमेशको कोखामा सटाएर गोली हानेका थिए ।
गोली हानेलगत्तै दुवै जना मोटरसाइकलमै फरार भएका थिए । तत्कालै घटना स्थलमा पुगेको प्रहरी टोलीले घाइते उमेशलाई उद्धार गरी उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल पु¥याएका थिए ।
घटनाको अनुसन्धान गर्दै जाँदा उमेशलाई गोली हान्ने मुन्ना, मनोज र प्रियंकका प्रेमी विकेन्द्रलाई भने वीरगन्जको विर्ताबाट पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक डा। गणेश रेग्मीले बताए । गोली हान्ने घटनामा प्रयोग गरिएको विकेन्द्रको मोटरसाइकल वीरगन्जबाट बरामद गरिएको तथा पेस्तोल र त्यसको एक राउन्ड खोका वीरगन्जको मुर्लीमा रहेको विद्यासदन माध्यमिक विद्यालयसँगै जोडिएको घर पछाडि बालुवाको बोराभित्र लुकाएर राखिएको अवस्थामा फेला पारिएको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए । पक्राउ परेका सबै अभियुक्तले घटना आफूहरूले गराएको स्वीकार पनि गरिसकेको प्रहरी उपरीक्षक डा। रेग्मीले बताए ।
प्रहरी प्रमुख एसपी रेग्मीका अनुसार घटनाको ६ घण्टा निबित्दै यसमा संलग्न रहेकाहरूलाई पक्राउ गर्न सक्नुमा सार्वजनिक ठाउँमा जडान भएको सीसीटीभी क्यामराबाट निकै सहयोग पुगेको थियो ।
अनुसन्धानका क्रममा प्रहरीले सबभन्दा पहिले मोटरसाइकल धनी विकेन्द्रलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । त्यसपछि मात्रै चौरसियाकी श्रीमती प्रिंयका र विकेन्द्रबीच प्रेम सम्बन्ध रहेको तथा प्रियंकाकै सहयोगमा हत्या योजना बनेको बयानका आधारमा प्रियंकालाई पक्राउ गरिएको थियो ।
यसरी बस्यो प्रेम सम्बन्ध
वीरगन्ज महानगरपालिका–१० रानीघाट बस्दै आएका चौरसियाको तीन वर्षअघि प्रियंकासँग विवाह भएको थियो । करिब ७ वर्ष अगाडिदेखि वैदेशिक रोजगारको सिलसिलामा उनी दुबई बस्दै आएका थिए । विवाहको केही समयपछि उनी पुनः दुबई गएका थिए । चौरसियाले श्रीमतीलाई प्राविधिक शिक्षा दिने भनेर एएनएम पढाइरहेका थिए । तर, चौरसिया विदेश हुँदा श्रीमतीको सम्बन्ध वीरगन्जको ओपोलो ट्रमा सेन्टरमा काम गर्ने विकेन्द्रकुमार गुप्तासँग गाँसियो । हाल चौरसिया फर्केर वीरगन्ज आउँदा प्रियंका र उनका प्रेमीले आफ्नो सम्बन्धमा खलल हुने ठानेर हत्याको योजना बनाएका हुन् । ‘प्रियंका र प्रेमी विकेन्द्रले आफूहरूको सम्बन्धलाई लामो समय राखिराख्न यस्तो योजना बनाएको उनीहरूले बयानमा स्विकारिसकेका छन्,’ पर्सा प्रहरी प्रमुख एसपी डा। गणेश रेग्मीले राजधानीसँग भने । उनका अनुसार प्रियंकाले दश जोड दुईको पढाइ सिध्याएर अनमीको कोर्स पनि गरेकी थिइन् । त्यसपछि उनले दुईवटा अस्पतालमा काम गर्दै आएकी थिइन् । एसपी रेग्मीका अनुसार प्रियंकाले अपराध स्वीकार गरेसकेकी छन् । उनले जेल जीवन भुक्तान गरेर प्रेमी विकेन्द्रसँगै विवाह गर्ने समेत बताएकी छन् । राजधानी दैनिकबाट