अपडेट! संखुवासभा जिप दुर्घटनामा ६ को मृत्यु, शव खाँदबारी ल्याईदै


संखुवासभा ३० पौष ।

संखुवासभा–भोटखोला गाउँपालिकाको हटियामा पर्ने बरुण दोभान तर्फ गएको जिप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटुवाल सहित ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी समाजशास्त्री अर्जुन बस्नेत, इन्जिनीयर सुदीप ढकाल, जिल्ला समन्वय समितिका सूचना अधिकृत सुभाषचन्द्र कुईकेल, पाथीभरा हेदांनाका सुरेश राई र चालकको घटनास्थलमा मृत्यु भएको प्रहरी निरीक्षक बेदप्रसाद गौतमले बताए ।

दुर्घटनामा परेका सबैजनाको शव क्षतविक्षत भएको छ । प्रमुख जिल्ला अधिकारी शीवराज जोशीका अनुसार सदरमुकाम खाँदबारीबाट गएको बा ५ च १३०९ नम्बरको जिप मकालु गाउँपालिका ३ मा पर्ने सामाटार भन्ने स्थानमा आईतबार दिउसो १२ बजे दुर्घटना भएको थियो । घटनास्थल निक्कै भीरालो भएकाले घटना भएको ४ घण्टापछि शव निकालिएको छ ।

जिप स्थानीय विकास मन्त्रालय अन्तरगत केन्द्रिय आयोजना कार्यान्वयन ईकाईको रहेको प्रजिअ जोशीले बताउनु भयो । जिपमा भुकम्प पुननिर्माण सम्बन्धि तालिम दिन उनीहरु काठमाण्डौबाट जिप लिएर संखुवासभा आएका थिए । घटना लगत्तै पुगेको प्रहरीले शव झिकेका हुन् । प्रहरी निरीक्षक गौतमका अनुसार जिपको झ्याल काटेर उनीहरुको शव झिकिएको हो ।

जिप सडकबाट करिव ८ सय मिटर तल झरेको छ । घटनास्थल सदरमुकाम खाँदबारीबाट कम्तिमा ७० किलोमिटर उत्तरमा पर्छ । यो सडक खण्डमा करिव २ महिना अघिमात्र ट्रयाक खोलिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार