भोजपुर, १९ पौष ।नेपालका लागि भारतीय राजदुत मञ्जीत सिंह पुरीले अरुण तेस्रो परियोजनाको निर्माण कार्य द्रुत गतिमा अघि बढाउन निर्देशन दिएका छन् । बहुचर्चित राष्ट्रिय गौरवको अरुण–३ जलविद्युत परियोजनाको राजदुत पुरीले मंगलबार स्थलगत अवलोकनको क्रममा यस्तो निर्देशन दिएका हुन् ।
हेलिकप्टर मार्फत संखुवासभा आएका पुरी सहितको टोली र प्रमुख जिल्ला अधिकारी परियोजनाको पावरहाउस निर्माणाधिन स्थल पुखुवा पुगेका थिए । पावरहाउसको अवलोकन पछि राजदुतको टोली परियोजनाको बाँध निर्माणास्थल नुमको प्mयाक्सिन्दा पुगेका हुन् । प्mयाक्सिन्दा पुगेको टोलीले परियोजना निर्माण र कार्य प्रगतिको बारेमा विस्तृत जानकारी लिएका थिए ।
एसजेभीएन अरुण–३ पावर डेभलपमेण्ट कम्पनी प्रा.लि.ले अरुण–३ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । एसजेभीएनमा भारत सरकारको ७४.५ प्रतिशत र हिमाञ्चल राज्य सरकारको २५.५ प्रतिशत स्वामित्व रहेको छ । ९ सय मेगावट क्षमता रहेको यो आयोजनाल प्रतिवर्ष ३ हजार ६ सय ४ दशमलव ६१ गिगावाटघण्टा विद्युत उत्पादन गर्ने जनाइएको छ ।
२५ वर्षे सञ्चालन करार अवधिमा नेपालले २१ दशमलब ९ प्रतिशत विजुली निःशुल्क पाउने छ । उक्त अवधिमा नेपालले पाउने निःशुल्क उर्जाको मुल्य करिब १ सय ५५ अर्ब रुपैयाँ हुने अनुमान छ । २५ वर्षमा नेपालले १ सय ७ अर्व राजस्व पाउने छ भने कम्पनीले व्यवसायिक उत्पादन सुरु भएपछि १० वर्षसम्म शतप्रतिशत नै आयकर छुट पाउने छ । त्यसपछिको थप पाँच वर्ष नेपाल सरकारले ५० प्रतिशत आयकर छुट दिनुपर्ने छ ।
२०७१ मंसिर ९ गते लगानी बोर्डसँग सतलजले आयोजना विकास सम्झौता (पिडिए) सम्पन्न गरी दुई वर्षपछि निर्माण कार्य सुरु गर्ने सहमति भएको थियो । अरुण तेस्रो जलविद्यत् आयोजनाको कुल अनुमानित लागत एक खर्ब ४ अर्ब रुपैयाँ रहेको छ । आयोजनाको प्रसारणलाईन संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सिराहा, धनुषा र महोत्तरी हुदै भारततर्फ लगिने छ ।