भोजपुर, १९ पौष ।
भोजपुर जिल्लामा हात्तीपाइले (फाइलेरिया) रोग न्युनिकरणको लक्ष्य पुरा भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । लक्ष्य पुरा गर्नको लागि संक्रमितको संख्या १ प्रतिशत भन्दा कम हुनु पर्नेमा त्यो देखिएकाले लक्ष्य पुरा भएको जिल्ला स्वास्थ्यको भनाई छ ।
हात्तीपाईले जिवाणुको नमुना परिक्षणको लागि जिल्लाको टक्सार र मुलपानीमा तीन / तीन सय जनामा सर्वेक्षण गरिएकोमा मुलपानीमा एक जनामा मात्र हात्ती पाईले जिवाणु फेला परेको थियो ।
परिक्षणमा देखिएको संख्या प्रतिशत तुलना गर्दा एक भन्दा कम हुने भएकाले भोजपुरमा हात्ती पाईले रोग न्यूनिकरण भएको स्वास्थ्य कार्यालयको दावी छ । संख्या एक प्रतिशत भन्दा कम भए पछि रोगको जिवाणु एक व्यक्तीबाट अर्को व्यक्तीमा नसर्ने स्वास्थ्य कार्यालयको भनाई छ ।
जिल्लामा यस अघि २०७३ सालमा ८० प्रतिशतले औषधी खाएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख कृष्ण वहादुर मिजारले जानकारी दिए ।
संख्यागत रुपमा जिल्लामा एक लाख १३ हजार ४ सय ४४ जनाले औषधी खाएको मिजारको भनाई छ । जसमा ६७ हजार ७८३ लाई घर/घरमा गएर र केन्द्रबाट ४५ हजार ६६१ जनाले औषधी खाएको जिल्ला स्वास्थ्यको तथ्याङ्कले देखाएको छ ।
एक लाख ४१ हजार ६१ जनालाई औषधी खुवाउने लक्ष्यका साथ २०७३ चैत्र महिनाको २१, २२ र २३ गते जिल्लाभर हात्ती पाइलेको औषधी खुवाइएको थियो । जिल्लामा ६ पटक औषधी खुवाई सकिएको छ ।
लक्ष्य पुरा भएको भए पनि औषधी खुवाउने कार्यक्रम तय भएकोले यस पटक पनि जिल्ला भर औषधी खुवाइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।