भोजपुरे गणेश रसिकलाई ‘भोजपुर प्रतिभा सम्मान ’


काठमाडौं १७ पौष ।

वरिष्ठ स्रष्टा गणेश रसिक र युवा स्रष्टा तथा समालोचक पूर्ण इन्फादालाई ‘भोजपुर प्रतिभा सम्मान’ तथा ‘पुरस्कार प्रदान’ प्रदान गरिने भएको छ । बेलायतमा रहेका भोजपुरे स्रष्टा–सर्जकहरूद्वारा एक दशकअघि स्थापित भोजपुर प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०१७ को यो सम्मान पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

रसिकले साहित्य, कला तथा गीत–सङ्गीत र इन्फादाले कविता तथा समालोचनाका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याए बापत उक्त सम्मान तथा पुरस्कार प्रदान गर्न लागिएको संस्थाका सचिव काङमाङ नरेश राईले बेलायतबाट जानकारी गराए । संस्थाका अध्यक्ष दयाकृष्ण राईको अध्यक्षतामा बसेको बैठकले योे निर्णय गरेको जानकारी गराइएको छ ।

साहित्य, कला, सङ्गीत तथा खेलकुद विधामा उल्लेखनीय योगदान दिएबापत भोजपुरे प्रतिभालाई दिइने सम्मानबाट यसअघि पूर्णप्रकाश नेपाल ‘यात्री’, परशु प्रधान, कृष्ण जोशी, जिबी लुगुन र मञ्जुल सम्मानित भइसकेका छन् भने पुरस्कार श्रवण मुकारुङ, दिनेश बान्तवा, विप्लव ढकाल, विमल गिरी र मीरा राईले प्राप्त गरिसकेका छन् । सचिव काङमाङका अनुसार सम्मानमा नगद १५ हजार राशिसहित दोसल्ला र ताम्रपत्र तथा पुरस्कारमा नगद ३० हजार राशि र ताम्रपत्र रहेको छ ।
सम्मान तथा पुरस्कार फागुनको दोस्रो साता राजधानीमा एक समारोहको आयोजना गरी प्रदान गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार