भोजपुर १४ पौष ।
हाम्रो समाजमा पढेलेखेका धेरै मानिस खेतीपातीको काम गर्न चाहँदैनन् तर भोजपुरका अध्ययनमा पीएचडी सकेका एक युवा भने कृषिमा आबद्ध भएर गतिलो उदाहरण बनेका छन् । समाजशास्त्रमा (पीएचडी) विद्यावारिधि गरेका भोजपुर नगरपालिका–१० का ३२ वर्षीय चक्रबहादुर कार्कीले चार सय रोपनी क्षेत्रफलमा व्यावसायिक अलैंची खेती सुरु गरेर सामाजका लागि उदाहरणीय व्याक्ति बनेका हुन् ।
हाल कार्कीको अधिकांश समय अलैंचीको हेरचाह गर्दैमा बित्ने गरेको छ । उनले ३० लाख रुपैयाँ लगानी गरेर कृषि पेसा अँगालेका हुन् ।
नेपाली युवाहरू रोजगारको खोजीमा दिन प्रतिदिन विदेश गइरहेको अवस्थामा नेपालमै बसेर केही गर्न सकिन्छ भन्ने हिम्मतसाथ कृषिमा लागेको कार्कीको भनाइ छ । खाद्यान्न बालीबाट भन्दा अलैंची खेतीबाट धेरै आम्दानी लिन सकिने कार्की बताउँछन् ।समाजशास्त्रमा विद्यावारिधि गर्दै गरेका कार्की कृषि पेसालाई सम्मानजनक पेसाका रूपमा विकास गर्न र स्वरोजगार बन्न रोजेको बताउँछन् ।
उनी भन्छन्‘अलैंची खेतीबाट नहुँदा पनि वार्षिक २०/ २१ लाख आम्दानी हुन्छ अनि किन अन्य पेसा खोज्नु ?’ कार्कीले आफूसँगै १० जनालाई रोजगारसमेत दिएका छन् । आफ्नो बगानमा अलैंचीसँगै एक लाख ५० हजारभन्दा बढी अलैंची बिरुवासमेत रहेको उनी बताउँछन् ।
लाखौं रुपैयाँ खर्च गरेर विदेश जानुुभन्दा त्यो विदेशमा गएर अरूको नोकरी गर्नु भन्दा नेपालमै बसेर केही गर्न सकिने उनको भनाइ छ । कार्की नेपाली काङ्ग्रेस भोजपुरका जिल्ला सचिव समेत रहेका छन् । भोजपुरमा पछिल्लो समय धेरै युवा कृषि व्यवसाय तिर आकर्षित हुन थालेको जिल्ला कृषि विकास कार्यालयको भनाइ छ ।
अलैंचीको पकेट क्षेत्रका रूपमा लिइएको भोजपुरमा गत वर्ष एक सय ५५ मेट्रिक टन अलैंची उत्पादन भएको थियो , भने यस वर्ष एक सय ९२ मेटिक्टन अलैची उत्पादन भएको छ । गत वर्षको तुलनामा यस वर्ष ४ मेक्टिनले उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।