भोजपुर, १३ पुस ।
गत शुक्रबार भोजपुरको अरुण गाउँपालिका वडा नं १ का वडाध्यक्ष नगेन्द्र खत्रीमाथि कुटपिटको घटना विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा ले जिम्मा लिएको छ । खत्री कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।
घरबाट वडा कार्यालय जाँदै गरेका खत्री माथि ५–६ जनाको समूहले सांघातिक हमला गरेको थियो । नेकपाले विज्ञप्ती जारी गर्दे घटनाको जिम्मा लिएको छ ।
उसले भनेको छ –चुनावमा कांग्रेसलाई भोट मागेको, योजना मनपरी ढंगले संचालन गरेको, दलिय आस्थाका आधारमा कर्मचारीलाई विभेद गरेको, बजेटमा राजनीतिकरण गरेको र नेकपाविरुद्ध सुराकी गरेका कारण सुध्रनका लागि कारबाही गरेको जनाएको छ ।
यता पाटन अस्पतालमा उपचाररत खत्रीले भने नेकपाको आरोप निराधार भएको बताएका छन् ।
आक्रमणबाट खत्रीको कम्मर मुनीको भागमा गहिरो चोट लागेको छ ।