भोजपरमा टडिखेलमा किराँत राईहरुले धुमधामका साथ उधौली मनाए



भोजपुर,१७ मंसिर ।
किराँत राईहरुको साँस्कृतिक पर्व उधौली भोजपुरका किराँत समुदायले भव्य रुपमा मनाएका छन् । प्रकृतिलाई खुशी राख्नका लागि किराँत राई समुदायहरु बाली लगाउने समय पारेर बैशाख पूर्णिमामा उभौली र अन्न बाली घरमा भित्र्याएपछि मंसिरे पूर्णिमामा उधौली पर्व मनाउँछन् ।
देशका विभिन्न जिल्लामा बसोबास गर्ने किराँत राईहरुले साकेला सिलीको तालमा नाच्दै, रमाउँदै उधौली पर्व मनाएका हुन् । बालीनाली राम्रो भएकोमा प्रकृतिलाई धन्यवाद दिन मनाइने यो पर्वमा किराँत विधिअनुसार सुम्निमा र पारुहाङको पूजा गर्ने गरिन्छ ।

उधौली पर्वमा किरात राईहरु आफ्नो पूर्खाहरुले कन्दमुल खाएर जीविका गरेको स्मृतिमा कन्दमुल खाने काँचो बनतरुलको टिका लगाउने सबेरै काँचो बनतरुल चपाएपछि मात्र अन्य उसिनेका वा भुटेर तारेका कन्दमुल भोजनका रुपमा ग्रहण गर्ने गर्दछन् । अन्नबाली भित्राउने याम मानेर नयाँ अन्नबाली प्रकृति र पूर्खालाई चढाएर सुःख समृद्धिको कामना गर्दै उधौली पर्व मनाउने चलन रहेको किराँत संस्कृति विद चक्रप्रसाद राईको भनाई छ ।
मान्छेलाई खेती गर्ने ठाउँ दिने प्रकृति र खेती गर्न सिकाउने पूर्वजहरुको सम्मानस्वरुप यो पर्वमा भूमिपूजा गर्ने चलन रहेको राईको भनाई छ ।
त्यस्तै,अन्न राख्ने भकारीमा पूजा गर्नु चूल्होमा कुखुराको बलि दिनु र ढोलझ्याम्टाको तालमा चरा, दुम्सीजस्ता पशुपंक्षीको अनुकरण गर्दै नाच्नु पनि यो पर्वको अर्को विशेषता रहेको नाग्छोङ्ग विदुर राईले वताए ।
विषेश गरेर राई जातीले मनाउने यस पर्वमा राई समुदायसंगै अन्य समुदायले पनि उतिकै चासोका साथ लिने गरेका छन् । यसले विभिन्न जातजाती विचको धार्मिक सहिष्णुता अझ प्रगाढ बनाउन सहयोग पु¥याउने जानकारहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार