भोजपुर गोल्डकपको उपाधी ‘गोर्खा ब्वाईज स्पोर्टस् क्लब रुपन्देहीलाई’


भोजपुर, ११ बैशाख ।
गोर्खा ब्वाईज स्पोर्टस् क्लब रुपन्देही चौँथो अन्तराष्ट्रिय आमन्त्रण भोजपुर गोल्डकपको च्याम्पियन बनेको छ । आज स्थानीय टुँडिखेलमा भएको फाईनलमा अफ्रिकन रुट्स एशोसियसन क्यामरुनलाई १–० ले हराउँदै गोर्खा ब्वाईजले उपाधी जितेको हो ।
खेलको निर्धारित समयमा दुवै टिमबाट कुनै गोल हुन नसकेपछि थपिएको अतिरिक्त समयमा गोर्खा ब्वाईजले गोल गर्न सफल भयो । थपिएको पहिलो अतिरिक्त समयको छैठाँै मिनेटमा गोर्खा ब्वाईजका पेपेले गरेको गोल नै निर्णायक बनेपछि गोर्खा ब्वाईजको जित सुनिश्चित बनेको थियो ।
निकै संघर्षरत बनेको अफ्रिकन रुट्सले थपिएको दोश्रो अतिरिक्त समयमा पनि गोल फर्काउन नसकेपछि अफ्रिकन टोलीले हार टार्न सकेन । म्यान अफ दि म्याच समेत बनेका पेपेले प्रतियोगिता अवधिभर राम्रो प्रदर्शन गरे ।
जितसंगै गोर्खा ब्वाईजले रु.५ लाख नगदसहित ट्रफि हात पारेको छ । यस्तै उपविजेता बनेको अफ्रिकन रुट्सले रु. ३ लाख नगद जितेको छ । जिल्ला फुटबल संघ भोजपुरको आयोजना र भोजपुर नगरपालिकाको प्रायोजन रहेको उक्त प्रतियोगितामा विदेशीसहित ८ विभिन्न टिमको सहभागिता रहेको थियो ।
प्रतियोगितामा उत्कृष्ट गोलकिपर गोर्खा ब्वाईजका अरुण लामा, सर्वोत्कृष्ट खेलाडी गोर्खा ब्वाईजकै पेपे, सर्वाधिक गोलकर्ता अफ्रिकन रुट्स एशोसियसनका एम्फोमो, उत्कृष्ट मिडफिल्डर अफ्रिकन रुट्सकै एन रोनाल्डो र उत्कृष्ट डिफेन्डर गोर्खा ब्वाईजका मनोज श्रेष्ठ घोषित भए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार