भोजपुरको उत्तरी क्षेत्रका नागरिकलाई लक्षित गरेर दिङ्लामा बैशाख १३ गते निशुल्क स्वास्थ्य शिविर


भोजपुर, ५ बैशाख । भोजपुरको उत्तरी क्षेत्रका नागरिकलाई लक्षित गरेर षडानन्द नगरपालिका केन्द्र दिङ्लामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । दुर्गम भेगका नागरिकलाई उनीहरूको घरदैलोमा नै स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले कोशी प्रदेशका सांसद विनोद बान्तावाको पहलमा नोवेल मेडिकल कलेज टिचिङ अस्पताल विराटनगरको सहयोगमा बैशाख १३ गते दिङलाको महात्मा गान्धी मेमोरियल अस्पतालमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो । शिविरमा जनरल मेडिसिन तथा मुटु रोग, प्रसूति तथा स्त्रीरोग, बालरोग, हाडजोर्नी, दन्त, नाक, कान घाँटी, न्यूरो सर्जरी, फोक्सो, छाला तथा यौन रोग, कलेजो तथा नसा रोगलगायतको सेवा प्रदान गरिने जनाईएको छ ।

विभिन्न रोगबाट ग्रसित षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका करिव दुई हजार पाँच सय नागरिकलाई सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको सांसद बान्तावाले बताउनुभयो । शिविरमा नोवेल मेडिकल कलेज टिचिङ अस्पतालका सञ्चालक शुनिल शर्मा सहित विषेशज्ञ डाक्टरहरुद्धारा सेवा प्रदान गरिने सांसद बान्तावाको भनाइ छ ।

नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदानसँगै जटिल खालका रोगको निःशुल्क शल्यक्रिया गर्ने लक्ष्यका साथ शिविरको आयोजना गरिएको सांसद बान्तावाले जानकारी दिनुभयो । सामान्य रोगको शिविरमै उपचार हुने र रेफर गरिएकाहरुको नोवेल मेडिकल कलेज टिचिङ अस्पतालमा निःशुल्क उपचार गरिने उहाँको भनाइ छ । “उपचारको अभावमा रोग लुकाएर बसेका ग्रामिण भेगका गरिव तथा विपन्न परिवारलाई लक्षित गरेर निःशुल्क उपचार गर्ने उद्देश्यले शिविरको आयोजना गरेका छौ ”सांसद बान्तावाले भन्नुभयो,“यो शिविर अन्य शिविर भन्दा फरक छ ।, डाक्टरहरुले सिफारिस गरेका विरामीलाई निःशुल्क शल्यक्रियासँगै आवश्यक उपचारको व्यवस्था मिलाएका छौँ । नागरिकलाई सहज स्वास्थ्य सेवा पु¥याउनको लागि मैले पहल गरिरहेको छु ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार