भोजपुर, २८ चैत । भौगोलिक रुपमा विकट मानिने भोजपुरको रामप्रसादराई गाउँपालिका ८ खोक्सिकको वाक्चाखामा विद्युत्को केन्द्रीय लाईन विस्तार भएको छ । यहाँका एक सय ५० घर परिवारमा विद्युत् विस्तार गरिएको हो । बषौँबाट टुकीको साहरामा रात कटाउदै आएका स्थानीय वडाले विद्युत् विस्तार गरेपछि खुसी भएका छन् ।
वषौँबाट टुकी तथा सोलारको उज्यालोमा रात कटाई रहेको अवस्थामा विद्युत्को केन्द्रीय लाईन विस्तार भएपछि दैनिकीमा परिवर्तन आएको स्थानीयकबासी राजेन्द्र राईले बताउनुभयो । विद्युत् विस्तारले कुटानी पिसानीसँगै दैनिक कामकाजमा सहज भएको उहाँको भनाइ छ । अहिले विद्युतिय उपकारण जडान गरेर काम गर्न सक्ने वातावरण तय भएको उहाँले जानकारी दिनुभयो ।
“भौगोलिक रुपमा विकट रहेको हाम्रो वाक्चाखा गाउँमा केन्द्रीय लाईन जडान भएको छ”उहाँले भन्नुभयो,“ विद्युत् विस्तारले बषौँबाट अध्यारो बस्नु पर्ने अवस्थाको अन्त्य भएको छ । विद्युत्ले दैनिक जीवनयापनमा सहजता भएको छौँ । ढिलै भएपछि विद्युत् उपभोग गर्न पाउँदा खुसी लागेको छ ।”
वडाको सकृयतामा दुर्गम क्षेत्रमा केन्द्रीय लाईन विस्तारले सूचनाको पहुँचमा जोडिन सहजता भएको स्थानीयबासी महेन्द्र राईले बताउनुभयो । विद्युत् विस्तारपछि नेट, इन्टरनेट, टेलिभिजन प्रयोग गर्दै गाउँमा बसेर देश विदेशको जानकारी लिने गरेको उहाँले बताउनुभयो ।
“ विद्युतु नहुँदा दैनिकी निकै कष्टकर थियो ”उहाँले भन्नुभयो,“विद्युत् विस्तार भएपछि गाउँले जीवनमा सहजता थपिएको छ । घरमा बसेर देश विदेशका सूचना लिन सकेका छौँ । गाउँ झिलीमिली बनेको छ ।यहाँ विद्युत् आउछ भन्ने हामीलाई लागेको थिएन ।”
भौगोलिक रुपमा विकट रहेको भएपनि वडालाई आगामी वर्ष भित्र उज्यालो घोषणा गर्ने लक्ष्यका साथ केन्द्रीय लाईन विस्तारको काम गरिरहेको वडाध्यक्ष वाचकुमार राईले बताउनुभयो । हालसम्म वडाको ८० प्रतिशत क्षेत्रमा विद्युत् विस्तार गर्न सफल भएको उहाँको भनाइ छ । वडाको कुनै पनि स्थानमा विद्युत् नपुगेको अवस्थामा अहिले अधिकांश गाउँमा विद्युत् विस्तार गरिएको वडाध्यक्ष राईको भनाइ छ ।
“मैले वडाको जिम्मेवारी सम्हाल्दा हाम्रो वडाको कुनै पनि स्थानमा विद्युत् थिएन” वडाध्यक्ष राईले भन्नुभयो,“अहिले ८० प्रतिशत क्षेत्रमा विद्युत् विस्तार गर्न सफल भएका छौँ । आगामी वर्ष उज्यालो वडा घोषणा गर्ने लक्ष्यका साथ काम गरिहेका छौँ ।” सीमित श्रोत साधनको अधिकतम उपयोग गर्दै विद्युत विस्तारमा पहिलो प्राथमिकता साथ काम गरिरहेको उहाँको भनाइ छ ।