
भोजपुर, १४ बैशाख । गरिवीका कारण उपचारबाट बन्चित भोजपुरको उत्तरी क्षेत्रमा रहेका दुई स्थानीय तहका एक हजार बढी नागरिकले निःशुल्क स्वास्थ्य सेवा पाएका छन् । दिङलाको महात्मा गान्धी मेमोरियल अस्पतालमा भएको शिविरबाट विभिन्न रोगबाट ग्रसित षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका एक हजार ७३ जनाले विभिन्न रोगको विषेशज्ञ डाक्टरको निःशुल्क सेवा पाएका हुन् । शिविरका क्रममा भेटिएका जटिल समस्या भएका एक सय ३४ जनालाई बाहिरका अस्पतालमा थप उपचार तथा शल्यक्रियाको लागि रेफर गरिएको छ ।
स्वास्थ्य उपचारबाट बन्चित रहेको अवस्थामा सवै खालको रोगको निःशुल्क सेवा पाउँदा खुसी लागेको षडानन्द नगरपालिकाका ६ का ६४ वर्षीय स्थानीय निलबहादुर खड्गीले बताउनुभयो ।“भौगोलिक विकटताका कारण राम्रो स्वास्थ्य सेवा लिन सकेका थिएनौँ”उहाँले भन्नुभयो,“निःशुल्क स्वास्थ्य शिविरमार्फत सवै खालका रोग उपचार गर्न पाइयो । धेरै खुसी लागेको छ । यहि उपचार लिन बाहिरका अस्पतालमा जादा धेरै खर्च हुन्थ्यो ।”
दुर्गम भेगलाई लक्षित गरेर स्वास्थ्य शिविर सञ्चालनले उपचारको अभावमा रोग लुकाएर बसेकाहरुले उपचार गर्न पाएको शिविरमा सेवा लिन आउनु भएकी स्थानीयबासी पवित्रा दर्जीले बताउनुभयो ।“शिविर सञ्चालनले दुर्गम क्षेत्रका हामी जस्ता धेरै नागरिकले सेवा पाएका छौँ” उहाँले भन्नुभयो,“सहज उपचार गर्ने अवस्था नहुँदा रोग लुकाएर बसेकाहरुले उपचार गर्न पाएका छौँ ।यस्तो शिविर भावी दिनमा पनि सञ्चालन भइरहेमा धेरै नागरिकलाई सहजता हुने थियो ।”
शिविरबाट जनरल मेडिसिन तथा मुटु रोग, प्रसूति तथा स्त्रीरोग, बालरोग, हाडजोर्नी, दन्त, नाक, कान घाँटी, न्यूरो सर्जरी, फोक्सो, छाला तथा यौन रोग, कलेजो तथा नसा रोग, ल्याव परिक्षण, भिडियो एक्सरे, बालरोगलगायत रोगको निःशुल्क उपचार गरिएको हो ।
यहाँका नागरिकलाई नोवेल मेडिकल कलेज टिचिङ अस्पताल विराटनगरबाट निःशुल्क स्वास्थ्य उपचार दिइएको छ । कोशी प्रदेशका सांसद विनोद बान्तावाको पहलमा दुई पालिकामा निःशुल्क शिविर सञ्चालन गरिएको हो । शिविरि सञ्चालनको लागि षडानन्द नगरपालिका, साल्पासिलिछो र अरुण गाउँपालिकाले पनि आवश्यक सहयोग गरेको नेपाली काङ्ग्रेस युवा विपिन निरौलाले जानकारी दिनुभयो ।
स्थानीय नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदानसँगै जटिल खालका रोगको निःशुल्क उपचार गर्ने लक्ष्यका साथ शिविरि सञ्चालन गरिएको कोशी सांसद विनोद बान्तावाले बताउनुभयो ।
“नागरिकलाई सहज उपचारको व्यवस्था गर्न निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर सेवा प्रदान गरेका हौँ”सांसद राईले भन्नुभयो “उपचारको अभावमा रोग लुकाएर बसेका ग्रामिण भेगका गरिव तथा विपन्न परिवारलाई लक्षित गरेर शिविर सञ्चालन गरिएको हो । शिविरमा उपचार हुन नसकेकाहरुको निःशुल्क थप उपचारको व्यवस्था गरेका छौँ । शिविरले जनताको स्वास्थ्य अवस्था कस्तो छ भन्ने जानकारी लिन पनिसहज भएको छ ।”
ग्रामिण भेगमा शिविर सञ्चालनले नागरिकको वास्तबिक अवस्थाको विषयमा जानकारी भएकाले भावी दिनका योजना निर्माणमा सहजता हुने सांसद बान्तावाको भनाइ छ । शिविरले नागरिकलाई नागरिकलाई सहजता भएको षडानन्द नगरपालिका प्रमुख सुरेन्द्र कुमार उदासले बताउनुभयो । शिविर सञ्चालनको लागि नगरपालिकाले पनि आवश्यक सहयोग गरेको उहाँको भनाइ छ ।

















