सङ्खुवासभाः चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पा गाउँमा बिजुली बलेपछि दङ्ग छन् । धिपधिपे टुकी र सोलारको मधुरो बत्तीमा रात काट्दै आएका शेर्पाको गाउँपालिका चिचिलावासीले केन्द्रीय प्रशारण लाइनको बिजुली बाल्न पाएका छन् । सदरमुकाम खाँदबारीमा बिजुली बलेको तीन दशकपछि चिचिलामा विद्युत् प्राधिकरणको केन्द्रीय प्रशारण लाइन पुगेको हो । खाँदबारी र चिचिलाको दूरी खासै धेरै नभए पनि दुर्गम भएकाले बिजुली पुगेको थिएन ।
‘हामीले निर्वाचित भएर आएपछि पहिलो प्राथमिकता बिजुली बाल्ने राख्यौं,’ उनले भने, ‘चुनाव जितेको झण्डै डेढ वर्षपछि बिजुली बाल्न पाउँदा खुशी छौं ।’ चिचिलामा बिजुली बलेपछि ३ सय परिवार उज्यालोमा बसिरहेका छन् । ‘पहिले मट्टितेल र सोलारको मधुरो उज्यालो हुन्थ्यो,’ उनले भने, ‘सबै गाउँलेले हिटर बाल्न थालेका छन् ।’ चिचिलामा अहिले सबैको घरघरमा फ्रिज, हिटर र राइस कुकुर छन् । ‘सोलारको जति ठूलो ब्याट्री र पाता राखे पनि खाना पकाउन सक्ने अवस्था भएन, उनले भने, ‘चिसो ठाउँ त्यसमा पनि घाम नलाग्दा समस्या हुँदै आएको थियो । बिजुली नहुँदा गाउँपालिकाको काम समेत प्रभावित भएको थियो अहिले सहज भएको छ ।’
‘बिजुली बलेपछि स्थानीय बासिन्दा रातभर जाग्राम बसेर नाचगान गरेको राजेन्द्र घलेले बताए । ‘पहिलोपटक बिजुली बाल्न पाउँदा हर्षित भयौं,’ उनले भने, ‘सदरमुकाम जाँदामात्रै केन्द्रीय प्रशारणको बिजुली देख्ने गरेका थियौं ।’ विद्युत् प्राधिकरण खाँदबारी वितरण केन्द्रले केन्द्रीय प्रशारण लाइन वितरणलाई तीव्रता दिएको जनायो । विद्युत् प्राधिकरण खाँदबारीले यसै वर्षभित्र १० वटा स्थानीय तहमध्ये ९ वटा स्थानीय तहमा विद्युत् बाल्ने प्रक्रिया अन्तिम चरणमा पु¥याएको प्रमुख धु्रव अधिकारीले बताए ।
‘विद्युत् नपुगेका चैनपुर नगरपालिकाका केही वडा, चिचिला, सभापोखरी, मकालु र सिलिचोङ गाउँपालिकामा विद्युतको केन्द्रीय प्रशारण लाइनको विस्तार धमाधम भइरहेको छ,’ अधिकारीले भने, ‘चैनपुर नगरपालिका १ को गुफा, सुकेबजार तथा चिचिला गाउँपालिकाको दिदिङ, डाँडागाउँ र मत्स्यपोखरीका ग्रामीण भेगमा विद्युत् विस्तार गरी बाल्न समेत शुरु भइसकेको छ ।’
अन्धकारमा बस्दै आएका ग्रामीण भेगका स्थानीय वर्षौंदेखिको सपना साकार भएकामा हर्षित भएका छन् । उनले भने, ‘बिजुली आएपछि स्थानीय बासिन्दाले खाना पकाउन, रेडियो सुन्न, टिभी हेर्न, मोबाइल चार्ज गर्न सहज भएको छ ।’ विगतमा स्थानीय स्तरमा पेल्ट्रिक सेटबाट उत्पादित बिजुलीको प्रयोग गर्दा भरपर्दो विद्युत् नभएकाले मोबाइल चार्ज गर्नसमेत समस्या हुने गरेको उनको भनाइ छ । २०७२ सालबाट विद्युत् विस्तार शुरु गरिएको हो । केन्द्रीय प्रशारण लाइन जोडेपछि २४ घण्टा नै बिजुली उपयोग गर्न पाएपछि स्थानीयवासी खुशी भएको उनले बताए ।