भोजपुरमा पनि मतगणना स्थलमा तारजाली, यस्तो छ गणना स्थलको सुरक्षा व्यावस्था !!


भोजपुर, २० मंसिर ।
भोजपुर जिल्लामा पनि मतणनाको लागि मतगणना स्थलमा तारजाली लगाइएको छ । गणनाको समयमा दलका प्रतिनिधिबाट हुन सक्ने अराजक गतिविधिलाई ध्यानमा राख्दै तारजाली लगाइएको हो ।  मंसिर १० गते निर्वाचन सम्पन्न भएको भोजपुरमा विहिवार साँझबाट गणना शुरु गरिने भएको छ । सुरक्षित मतगणनाका लागि सिसी क्यामेरा जडान साथै मतगणना स्थलमा सुरक्षाको लागि तारजाली लगाइएको मुख्य निर्वाचन अधिकृत हरिसचन्द्र इङ्नामले जानकारी दिए ।
मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ, भने सोही स्थानमा मतगणना पनि हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  प्रत्यक्ष तर्फको मतगणना सकिएपछि समानुपातिकको गणना हुने भएको छ ।


भोजपुरमा कुल मतदाता एक लाख १३ हजार ८ सय ९१ मध्ये ६५ हजार ९ सय ९८ अर्थात ५७ दशमलव ९ प्रतिशत मत खसेको थियो । भोजपुरबाट प्रतिनिधि सभामा वाम गठबन्धनका माओवादी उम्मेदवार सुदन किराँती र लोकतान्त्रिकका कांग्रेस उम्मेदवार उमेशजंग रायमाझी विच प्रतिस्पर्धा हुनेछ ।
त्यस्तै प्रदेश सभा सदस्य तर्फ भोजपुर (क) मा वाम गठबन्धनका एमाले उम्मेदवार राजेन्द्र राई र लोकतान्त्रिक गठबन्धनका संघीय समाजवादी फोरम उम्मेदवार अजम्बर राई काङमाङ बीच प्रतिस्पर्धा छ भने भोजपुर (ख) मा वाम गठबन्धनका एमाले उम्मेदवार शेरधन राई र लोकतान्त्रिक गठबन्धनका कांग्रेस उम्मेदवार गोबिन्दबहादुर कार्कीले प्रतिस्पर्धामा रहेका छन् । भोजपुर जिल्लामा प्रतिनिधि सभा सदस्यको लागि एक र प्रदेश सभा सदस्यको लागि दुई ओटा निर्वाचन क्षेत्रको लागि निर्वाचन गरिएको थियो । जिल्ला एक सय ४८ मतदान केन्द्रमा मतदान प्रक्रिया भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार