खोटाङमा वाम गठबन्धन र कांग्रेशबीच कडा प्रतिस्पर्धा


खोटाङ, ६ मंसिर ।
आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मिति आउन चार दिन मात्र बाँकी रहँदा खोटाङमा चुनावी माहोल तातेर गएको छ । खोटाङमा आगामी १० मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा तिन पदका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । जिल्लाका प्रतिनिधिसभा सदस्यका लागि एक र प्रदेशसभा सदस्यका लागि दुई पदमा मुख्यतः एमाले र माओवादी केन्द्रसहितको वाम गठबन्धन र नेपाली कांग्रेश र राप्रपा लोकतान्त्रिक गठबन्धन बीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

जिल्लामा रोचक बनेको प्रतिस्पर्धामा साना दलको समर्थनले पनि अंकगणितीय खेलमा कसलाई पल्लाभारी दिने हो भन्नेबारे चासोको विषय बनेको छ । यद्यपि, जिल्लामा जति जति १० मंसिरको तिथि नजिकिँदै छ, त्यत्ति नै यहाँ उम्मेदवारले घरदैलो, चुनावी सभालाई तीव्र पारेको देखिन्छ ।
जिल्लामा लोकतान्त्रिक गठबन्धनलाई वाम गठबन्धनका उम्मेदवारको चुनौती खडा भएको छ । साना ठूला दलले आफ्ना उम्मेदवार जिताउन तल्लो तहसम्म सञ्जाल फिजाएर मतदातालाई आफ्नो पक्षमा पार्न कसरतमै छन् ।

दलहरू प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवारसहित छुट्टाछुट्टै कार्यतालिका बनाएर उम्मेदवारहरु बिहानदेखि बेलुकासम्म मतदाताको घरदैलोमा पुगेर मतदाता रिझाउनमा व्यस्त छन् ।

जिल्लामा उम्मेदवार मात्र नभएर नजिकका कतिपय कार्यकर्ताहरु सामाजिक सञ्जाल प्रयोग गरी मीठा मीठा चुनावी एजेन्डासहित आक्रामक शैलीमा मतदातालाई आकर्षित गर्दै छन् ।

यता जिल्ला निर्वाचन कार्यालयले १७९ वटा मतदान केन्द्र, १३६ मतदान स्थल र ७९ वडा कायम गरिएको जिल्लाका सबै मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत सहित ८ जना कर्मचारी र सुरक्षाकर्मीको टोली खटाइएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए । जिल्ला निर्वाचन अधिकारी खत्रीका अनुसार आसन्न निर्वाचनमा जिल्लाका १ लाख २५ हजार १८३ मतदाता सहभागी हुँदैछन् ।
आसन्न निर्वाचन सुरक्षाका लागि जिल्लामा नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी, म्यादी प्रहरी, राष्ट्रिय अनुसन्धानका सुचक, सूचना संकलक, कर्मचारी, संस्थान, मतदान केन्द्रमा खटिने कर्मचारी गरेर ४ हजार ९२ जना कर्मचारी खटाइएको प्रमुख जिल्ला अधिकारी एकदेब अधिकारी बताए ।

प्रजिअ अधिकारीले भने, ‘निर्वाचनको सुरक्षा व्यवस्था कडा छ निर्ढुक्क भएर भोट हाल्न सक्नुहुनेछ ।’ २०७० सालमा खोटाङका क्षेत्र १ र २ द्ुबैमा एमाले विजयी भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार