भोजपुरमा पनि निर्वाचनको लागि कर्मचारी खटिए 


भोजपुर, ६ मंसिर ।

पहिलो चरणमा मंसिर १० गते हुने निर्वाचनका लागि  भोजपुर जिल्लामा पनि वुधवारबाट कर्मचारीहरु मतदान केन्द्रहरुमा खटिएका छन् ।  मत पेटिका, मतपत्र, नङमा हाल्ने मसी, स्टाम्प प्याड लगायतका ६६ प्रकारका निर्वाचन सामग्री सहित मतदान अधिकृत र सहायक मतदान अधिकृत लगायतका कर्मचारी मतदान केन्द्रतर्फ लाग्न थालेका हुन ।

 निर्वाचनलाई सफल  रुपमा सम्पन्न गर्नको लागि भौगोलिक हिसावले विकट ठाउहरुमा  निर्वाचन सामग्री सहितका कर्मचारी मतदान पठाउन थालिएको जिल्ला निर्वाचन अधिकारी राजेन्द्र प्रसाद पोखरेलले जानकारी दिए ।

भौगोलिक रुपमा  विकट रहेका भोजपुरका उत्तरी साल्पासिलिच्छो गाउँपालिका, दक्षिणी आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिकाका सबै वडा र षडानन्द नगरपालिकाको   एक  र दुई मा  निर्वाचन सामग्री सहित वुधवारबाट कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरले जनाएको छ ।

जिल्लामा मतदान अधिकृत एक सय ४८, सहायक मतदान अधिकृत  एक सय ४८ सहायक कर्मचारी ५ सय ९२, कार्यालय सहयोगी २ सय ९६ जना खटिने छन् । त्यस्तै मतदान अधिकृतले  सवै मतदान केन्द्रमा गरि ६ सय ३ जना स्वयमसेवक नियुक्त गर्ने  सहायक निर्वाचन अधिकृत मणिराम पोखरेलले बताए ।

जिल्ला मुख्य निर्वाचन  अधिकृतको कार्यालयले यस पटक निर्वाचनमा एक हजार, एक सय ८४ जना कर्मचारी खटाउने तयारी गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार