पोखरीमा सामुहिक आत्महत्या गर्ने मोरङका माछा किसानको चेतावनी..


मोरङ २३ चैत्र । सरकारले तत्काल राहत रकम नदिए आफैंले खनेको पोखरीमा देह त्याग गर्ने मोरङका बाढीपीडित माछा कृषकहरूले चेतावनी दिएका छन् । गत साउन २८ गते आएको बाढीका कारण उनीहरुको उठिबास भएको थियो ।

साउन अन्तिम साता आएको बाढीका कारण जिल्लाका ७ सय ७ जना माछा पालक किसानका माछा पोखरी बगाएको थियो । बाढीपछि मोरङमा कृषि क्षेत्रका लागि ५ करोड ८४ लाख रुपैयाँ निकासा भएको थियो ।

जहदा गाउँपालिकाका ३ सय ९, धनपालथान गाउँपालिकाका ८, विराटनगरका २३, सुनवर्षिका ३५, उर्लाबारीका ४, पथरीशनिश्चरेका ३, ग्रामथानका ८८ किसानले राहतका लागि निवेदन दर्ता गराएका थिए । त्यस्तै सुन्दरहरैंचा–बेलबारीका ७६, कानेपोखरीका १७, रंगेलीका ७२, कटहरीका २७ बूढीगंगाका १५, लेटाङका २, रतुवामाईका ३ र केराबारीका २ जनाले राहतको माग गर्दै निवेदन दिएका थिए । तर सरकारले माछा पालक कृषकहरुलाई बेवास्ता गरेको माछा पालक संघ मोरङका अध्यक्ष बालाराम प्रसाईले बताउनुभयो ।

अबपनि सरकारले राहतका लागि व्यवस्था नगरे माछा पाल्न खनेको पोखरीमा आफै डुबेर देह त्याग गर्ने किसानहरुले चेतावनी दिएका छन् । किसानहरुको देहत्यागको जिम्मा सरकारीले लिनुपर्ने पीडित किसान रुपेश भट्टराईले बताउनुभयो ।

बाढीबाट माछा किसानले ६ करोडभन्दा बढीको क्षति व्यहोरेका थिए । मोरङमा मात्रै ३ सय ५७ हेक्टर क्षेत्रफलमा लगाएको माछा पोखरी बाढीले बगाएको कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार