१९ हजार कर्मचारीलाई कारबाही सिफारिस


काठमाडौं, ७ फागुन । राष्ट्रिय सतर्कता केन्द्रले निर्धारित समयमा सम्पत्ति विवरण नबुझाउने १९ हजार १ सय ३४ जना कर्मचारीमाथि कारवाही र छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको छ। अन्नपूर्ण पोस्ट्मा समाचार छ ।

केन्द्रले सम्पत्ति विवरण नबुझाउने निवर्तमान मन्त्री, पूर्वसांसद, निजामती कर्मचारी, शिक्षक, सैनिक, प्रहरी तथा विभिन्न सार्वजनिक संस्थान र निकायमा कार्यरत पदाधिकारीलाई कारबाहीका लागि आइतबार अख्तियारसमक्ष सिफारिस गरेको हो। आर्थिक वर्ष ०७३र७४ को सम्पत्ति विवरण नबुझाएपछि उनीहरू कारबाही सिफारिसमा परेका हुन्।कारबाही सिफारिसमा पर्नेमा निवर्तमान सरकारका मन्त्री मोहनबहादुर बस्नेत, जितेन्द्र देव र सुनीलबहादुर थापा छन्। यसैगरी, तत्कालीन संसद्का २४ जना सांसद पनि समयमा सम्पत्ति विवरण नबुझाएपछि कारबाही सिफारिसमा परेका छन्।

संघीय फोरमका अध्यक्षसमेत रहेका उपेन्द्र यादव, पूर्वमन्त्री विश्वेन्द्र पासवान, पूर्वराज्यमन्त्री ल्हार्केल लामा, राजीवविक्रम शाही, मोहम्मद मुस्ताक आलम, पद्मनारायण चौधरीलगायत रहेको बताइएको छ।

कारबाही सिफारिसमा पर्नेमा सबैभन्दा बढी ११ हजार ४ सय ५५ जना शिक्षक र ४ हजार ५ सय २५ जना निजामती कर्मचारी रहेको सतर्कता केन्द्रले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार