समता स्कुलमा लागुऔषधविरुद्ध सचेतनामूलक कार्यक्रम


भोजपुर, ३१ साउन ।
विद्यार्थीलाई लागुऔषधको जोखिम र त्यसबाट पर्ने असरबारे जानकारी गराउने उद्देश्यले भोजपुरको समता स्कुलमा लागुऔषधविरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय भोजपुर र जिल्ला प्रहरी कार्यालय भोजपुरको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।
कार्यक्रममार्फत लागुऔषधको प्रयोगबाट हुने असर, कानुनी प्रावधान, यसको प्रयोगबाट बच्ने उपाय तथा लागुऔषध नियन्त्रणमा विद्यार्थी, अभिभावक, विद्यालय र समुदायको भूमिकाबारे जानकारी गराइएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुमन प्रधानको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अथिति प्रमुख जिल्ला अधिकारी राजन पौडेलले लागुऔषधको प्रयोगले व्यक्ति, परिवार र समाजमा नराम्रो असर पार्ने भएकाले यसको नियन्त्रणका सवै पक्ष गम्भिर बन्न आवश्यक रहेको धाराणा राख्नुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख ज्ञानबहादुर खड्का, सशस्त्र प्रहरी बल नेपाल नं. ५ गुल्म हेडक्वार्टर भोजपुरका प्रमुख राजेन्द्र गुरागाईं, राष्ट्रिय अनुसन्धान विभाग भोजपुरका प्रमुख रुद्र गुर्माछान मगर, समता स्कुल भोजपुरका प्रधानाध्यापक मुना पाण्डे, विद्यालय व्यवस्थापन समितिका सल्लाहकार संयोजक गणेश श्रेष्ठलगायतको उपस्थिति थियो ।
लागुऔषधको जोखिममा किशोरकिशोरी तथा युवा वर्ग पर्न सक्ने भएकाले विद्यालय तहबाटै सचेतना फैलाउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए । कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका, अभिभावक संघका पदाधिकारी तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
लागुऔषधको प्रयोग तथा ओसारपसार नियन्त्रणका लागि सुरक्षा निकायले सञ्चालन गर्दै आएका अभियान विषयमासमेत जानकारी गराइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार