
युवराज विष्ट
भोजपुर, १८ असार ।
भोजपुरको पौवादुङमा गाउँपालिकामा विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा उजागर गर्ने उद्देश्यले “विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम” सम्पन्न भएको छ। गाउँपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा आठ वटा विद्यालयको सहभागिता रहेको थियो।

कार्यक्रम अन्तर्गत माध्यमिक तथा आधारभूत तहका विद्यार्थीहरूबीच अन्तर विद्यालयस्तरीय विभिन्न प्रतियोगिताहरू सञ्चालन गरिएको थियो। हाजिरी जवाफ, नृत्य, हस्तलेखन, कविता वाचनलगायत सिर्जनात्मक तथा ज्ञानमूलक विधामा प्रतिस्पर्धा गराइएको शिक्षा शाखा प्रमुख सुनिता कटुवालले जानकारी दिनुभयो।

कार्यक्रममार्फत विद्यार्थीहरूमा लुकेर रहेका प्रतिभालाई प्रस्फुटन गराउन, आत्मविश्वास अभिवृद्धि गर्न तथा प्रतिस्पर्धात्मक क्षमताको विकास गर्न सहयोग पुगेको गाउँपालिकाका उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि सक्रिय बनाउने विश्वास लिइएको छ।
उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको आयोजकले जनाएको छ। कार्यक्रम दुई दिन सञ्चालन गरिएको हो ।























