पौवादुङमाद्वारा प्रहरीलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण


युवराज विष्ट
भोजपुर, १६ असार ।
पौवादुङमा गाउँपालिकाले विपद् जोखिम न्यूनीकरण तथा आपत्कालीन उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले इलाका प्रहरी चौकी तिवारी भञ्याङसहित दुई वटा प्रहरी चौकीलाई विपद् व्यवस्थापनसम्बन्धी सामग्री हस्तान्तरण गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार लाइट जडित सेफ्टी हेलमेट, स्टेचर, रेइनकोट, फायर बललगायत करिब रु. १ लाख ५० हजार बराबरका सामग्री सुरक्षाकर्मीहरूलाई उपलब्ध गराइएको हो।
उहाँले वर्षायामसँगै बाढी, पहिरो, आगलागी तथा अन्य सम्भावित विपद्का घटनाहरू बढ्न सक्ने भएकाले समयमै पूर्वतयारीस्वरूप सामग्री वितरण गरिएको हो। “विपद्को बेला तत्काल उद्धार, खोज तथा राहत कार्यलाई छिटो, सुरक्षित र प्रभावकारी बनाउन यस्ता सामग्री अत्यावश्यक हुन्छन्,” उहाँले भन्नुभयो, “यसले सुरक्षाकर्मीहरूको कार्यक्षमता अभिवृद्धि गर्नुका साथै जोखिम न्यूनीकरणमा पनि महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।”
गाउँपालिका अध्यक्ष किरण राईले स्थानीय तहले विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सुरक्षा निकायसँग सहकार्य गर्दै आएको बताउनुभयो। उहाँले विपद्को समयमा सबैभन्दा अगाडि रहेर काम गर्ने सुरक्षाकर्मीहरूलाई आवश्यक उपकरण उपलब्ध गराउनु स्थानीय सरकारको जिम्मेवारी भएको उल्लेख गर्नुभयो।
उपाध्यक्ष ज्योत्सना राईले विपद् व्यवस्थापनलाई केवल प्रतिक्रिया मात्र नभई पूर्वतयारी, सचेतना र दीगो व्यवस्थापनसँग जोडेर हेर्नुपर्नेमा जोड दिनुभयो। उहाँले सुरक्षाकर्मीहरूको सुरक्षाका लागि आवश्यक सामग्री उपलब्ध गराउँदा उनीहरू अझ आत्मविश्वासका साथ काम गर्न सक्ने बताउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो। “हामीले वितरण गरेका सामग्रीले उद्धार तथा खोज कार्यलाई सहज बनाउनेछ”उहाँले भन्नुभयो“ जोखिमयुक्त क्षेत्रमा काम गर्ने सुरक्षाकर्मीहरूको सुरक्षामासमेत टेवा पुग्नेछ,।”
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख राजु लामाले स्थानीय तहबाट प्राप्त सहयोगले विपद्को समयमा तत्काल प्रतिक्रिया दिन सहज हुने बताउनुभयो। उहाँले सीमित स्रोतसाधनका बीच काम गरिरहेका सुरक्षाकर्मीहरूका लागि यस्ता सामग्री अत्यन्त उपयोगी हुने उल्लेख गर्दै भविष्यमा पनि यस्तै सहकार्य आवश्यक रहेको बताउनुभयो।
“विपद् जुनसुकै बेला आउन सक्छ”प्रमुख लामाले भन्नुभयो“ त्यसको सामना गर्न पूर्वतयारी अत्यन्त जरुरी हुन्छ, । गाउँपालिकाबाट प्राप्त सहयोगले उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी र व्यवस्थित बनाउन मद्दत पुग्नेछ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार