
युवराज विष्ट
भोजपुर, २२ जेठ।
विश्व वातावरण दिवसको अवसर पारेर भोजपुरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। वातावरण संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण तथा हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले डिभिजन वन कार्यालय भोजपुरको आयोजनामा विभिन्न सरोकारवाला निकायको सहभागितामा वृक्षारोपण गरिएको हो।
कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालय परिसर र भोजपुर नगरपालिका–१२ टक्सारस्थित सशस्त्र प्रहरी बलको कार्यालय परिसरमा रहेको खाली जमिनमा वृक्षारोपण गरिएको छ। सो अवसरमा फलफूल तथा बहुउपयोगी प्रजातिका बिरुवालाई प्राथमिकता दिँदै लिची, अम्बा, एभोकाडो, कागती, सुन्तला, तेजपात, जामुन, म्याङ्गो स्टिम, कल्की फूललगायतका बिरुवा रोपिएको डिभिजन वन कार्यालयका वन अधिकृत कपिलदेव अधिकारीले जानकारी दिनुभयो।
वातावरणको संरक्षणसँगै हरियाली पर्वद्धन गर्ने लक्ष्यका साथ बृक्षारोपन कार्यक्रम सञ्चालन गरिएको डिभिजन वन कार्यालय भोजपुरका प्रमुख खुद्रुस मियाले जानकारी दिनुभयो । वातावरण प्रदूषण तथा जलवायु परिवर्तनका चुनौतीलाई ध्यानमा राख्दै सबैले वातावरण संरक्षणमा भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । रोपिएका विरुवाको संरक्षणको लागि सवैले ध्यान आवश्यक रहेको उहाँको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी राजन पौडेलले वृक्षारोपण अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै रोपिएका बिरुवाको संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । नियमित स्याहार–सुसार, घेराबार तथा जनचेतनामूलक कार्यक्रममार्फत दीगो वातावरण संरक्षण सम्भव उहाँको भनाइ छ ।
विश्व वातावरण दिवस प्रत्येक वर्ष जुन ५ तारिखमा मनाइने गरिन्छ। यस वर्ष समृद्ध भविष्यको आधार ः जलवायु एंव प्रकृतिमैत्री विकास” भन्ने नाराका साथ दिवस मनाइएको हो ।
वृक्षारोपण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सुरक्षाकर्मी, सामुदायिक वन उपभोक्ता समिति स्थानीयबासीको सहभागिता रहेको थियो।





















