भोजपुरका चार पत्रकार पुरस्कृत


युवराज विष्ट

भोजपुर, ७ जेठ । भोजपुर जिल्लामा क्रियाशील चार जना पत्रकारलाई विभिन्न विधामा पुरस्कृत तथा सम्मान गरिएको छ। नेपाल पत्रकार महासंघ भोजपुर शाखाको वार्षिक साधारण सभाको अवसर पारेर आयोजित विशेष कार्यक्रममा उनीहरूलाई नगदसहित पुरस्कृत गरिएको हो।

महासंघका अध्यक्ष ध्रुव सुवेदीका अनुसार श्रेष्ठ मनमाया अमर पुरस्कार २०८१ बाट अवतारमान राई र श्रेष्ठ मनमाया अमर पुरस्कार २०८२ बाट गणेश विष्ट पुरस्कृत भएका छन्। यसैगरी, पर्यटन क्षेत्रको प्रवद्र्धनमा पत्रकारितामार्फत योगदान पु¥याएबापत तिलकबहादुर–मनमाया राई पर्यटन पुरस्कार मिडन मगरलाई प्रदान गरिएको छ। त्यस्तै लोकनाथ दाहाल स्मृति खोज पत्रकारिता पुरस्कार सरिता सुनुवारलाई प्रदान गरिएको छ।

कार्यक्रममा बोल्दै अध्यक्ष सुवेदीले पत्रकारितालाई जिम्मेवार, सत्यनिष्ठ र जनउत्तरदायी बनाउन यस्ता सम्मान कार्यक्रमले सकारात्मक प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले पत्रकारहरू समाजका ऐना भएकाले उनीहरूले निष्पक्ष, तथ्यपरक र सन्तुलित समाचार सम्प्रेषणमा सदैव प्रतिबद्ध रहनुपर्ने उल्लेख गर्नुभयो। पत्रकारहरुको पेशागत सुरक्षाको लागि महासंघले ध्यान दिईरहेकोसमेत बताउनुभयो ।

कार्यक्रममा वक्ताहरूले वर्तमान समयमा पत्रकारिताले सामना गरिरहेका चुनौतीहरू,सामाजिक सञ्जालको प्रभाव, प्रविधिको विकाससँगै पत्रकारितामा देखिएका अवसर तथा चुनौतीको विषयमा धराणा राखेका थिए ।उनीहरूले स्थानीय पत्रकारिताको सुदृढीकरणका लागि राज्य तथा सरोकारवाला निकायको थप सहयोग आवश्यक रहेको औँल्याएका थिए।

यसै अवसरमा महासंघका पूर्व अध्यक्ष शाहीमान राईलाई पत्रकारिता क्षेत्रमा पु¥याएको दीर्घकालीन योगदानको कदर गर्दै विशेष सम्मान गरिएको छ । साधारण सभाले आगामी कार्ययोजना, पत्रकारहरूको क्षमता अभिवृद्धि, पेशागत सुरक्षालगायत विषयमासमेत छलफल गर्दै विभिन्न निर्णयहरू गरेको महासंघले जनाएको छ। साधारण सभामा सांगठानिक प्रतिवेदन सचिव विवेश राई र आर्थिक प्रतिवेदन कोषाध्यक्ष मोहन तामाङले प्रस्तुत गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार