
युवराज विष्ट
भोजपुर, २८ बैशाख ।
भोजपुरका अलैंची कृषकहरूको समस्या पहिचान गर्दै उत्पादन, गुणस्तर अभिवृद्धि तथा प्रभावकारी बजारीकरणमा सहयोग पु¥याउने उद्देश्यका साथ नेपाल अलैंची व्यवसायी महासंघले किसान लक्षित कार्यक्रम सञ्चालन गरेको छ। अलैंची खेतीमा देखिने विभिन्न रोग, कीरा तथा प्राकृतिक प्रकोपको नियन्त्रणसँगै गुणस्तरीय उत्पादनमा जोड दिने लक्ष्यले कार्यक्रम सञ्चालन हो ।
महासंघको आयोजनामा भोजपुरको रामप्रसादराई गाउँपालिकामा व्यावसायिक रूपमा अलैंची खेती गर्दै आएका किसानहरूको समस्या पहिचान गर्न विशेष कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, प्राविधिक तथा किसानहरूको सहभागिता रहेको थियो।

सहभागी किसानहरूले आफ्नो बगानमा देखिएका विभिन्न रोग, उत्पादन घट्नुका कारण, माटो तथा हावापानीअनुसार उपयुक्त जात छनोट जस्ता विषयमा जिज्ञासा तथा अनुभव प्रस्तुत गरेका थिए।
कार्यक्रममा बोल्दै नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष दीपक नेपालले किसानलाई आवश्यक सहयोग गर्ने लक्ष्यले कोशी प्रदेश सरकारसँगको सहकार्यमा प्रदेशका विभिन्न जिल्लामा यस्ता कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार अलैंची खेतीमा देखिएका समस्या पहिचान गर्दै किसानलाई आवश्यक प्राविधिक ज्ञान, रोग नियन्त्रण विधि तथा उत्पादन सुधारका उपायबारे जानकारी प्रदान गरिँदै आएको छ।
उहाँले किसानले उत्पादन गरेको अलैंची सिधै व्यवसायीसँग जोड्ने वातावरण तयार गर्न महासंघले सहजीकरण गरिरहेको बताउनुभयो। “हामीले किसानलाई बिचौलियाविना नै बजारसम्म पहुँच पु¥याउने प्रयास गरिरहेका छौँ,” अध्यक्ष नेपालले भन्नुभयो, “यसले किसानको आम्दानी वृद्धि हुनुका साथै उनीहरूको उत्पादनले उचित मूल्य पाउने अपेक्षा गरेका छौँ।”
रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राईले गाउँपालिकामा अलैंची किसानको राम्रो आम्दानीको स्रोत भएकाले यसको विकास र विस्तारमा स्थानीय तहले विशेष ध्यान दिएको बताउनुभयो। उहाँका अनुसार व्यावसायिक रूपमा अलैंची खेती गर्दै आएका किसानलाई प्रोत्साहन गर्न आवश्यक प्राविधिक सहयोग, तालिम तथा भूगोलअनुसार उपयुक्त खेती प्रणालीमा जोड दिइएको छ।
अलैंची किसानहरुलाई लक्षित गरेर प्रोत्साहनका कार्यक्रम सञ्चालन भईरहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रदिप राईले बताउनुभयो । अलैंची किसानको राम्रो आम्दानीको श्रोत रहेको बताउँदै उहाँले खेती विस्तारका लागि गाउँ कार्यपालिकाले गरेका निर्णय कार्यान्वयनमा आफू प्रतिवद्ध रहेको उहाँले बताउनुभयो ।
त्यस्तै, अलैंची किसान केन्द्र इलामका प्रमुख राजु ढकालले अलैंची नेपालको प्रमुख नगदे बालीमध्ये एक भएको उल्लेख गर्दै किसानहरूको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको बताउनुभयो। उहाँका अनुसार चालु आर्थिक वर्षको चैत महिनासम्म नेपालबाट करिब रु. १० अर्ब ७० करोड बराबरको अलैंची विदेश निर्यात भएको छ ।
नेपाल अलैंची व्यवसायी संघ जिल्ला शाखा भोजपुरका अध्यक्ष राजेश विष्टले जिल्लामा अलैंची खेतीबाट धेरै किसान लाभान्वित भए पनि प्राविधिक ज्ञान अभावका कारण अझै विभिन्न समस्या झेल्नुपरेको बताउनुभयो। उहाँले किसानको समस्या पहिचानसँगै समाधानमुखी कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको औँल्याउनुभयो।
“जिल्लाका धेरै किसान व्यावसायिक रूपमा अलैंची खेतीमा संलग्न छन्,” अध्यक्ष विष्टले भन्नुभयो, “तर पर्याप्त प्राविधिक ज्ञान नहुँदा उत्पादनमा गिरावट, रोगको समस्या तथा बजार व्यवस्थापनमा कठिनाइ देखिएको छ। त्यसैले यस्ता कार्यक्रममार्फत किसानलाई ज्ञान र सीप हस्तान्तरण गर्न हामीले प्राथमिकता दिएका छौँ।”
महासंघले सञ्चालन गरेको यस कार्यक्रमले किसानका समस्या नजिकबाट बुझ्न, समाधानका उपाय पहिचान गर्न तथा उत्पादनलाई गुणस्तरीय बनाउँदै बजारसँग प्रत्यक्ष जोड्ने सहयोग पुग्ने उद्योग बाणिज्य संघ भोजपुरका अध्यक्ष बद्री श्रेष्ठले बताउनुभयो ।


















