शङ्करप्रसाद कोइरालाद्वारा लिखित गीतिसंग्रह ‘आधा जिन्दगी’ लोकार्पण


युवराज विष्ट
भोजपुर, २६ वैशाख ।
भोजपुरमा कवि, साहित्यकार तथा गीतकार शङ्करप्रसाद कोइरालाद्वारा लिखित गीतिसंग्रह ‘आधा जिन्दगी’ एक विशेष समारोहबीच लोकार्पण गरिएको छ। शनिबार आयोजित कार्यक्रममा जिल्लाका साहित्यप्रेमी, स्रष्टा, बौद्धिक व्यक्तित्व तथा स्थानीय सरोकारवालाहरूको उपस्थितिमा लोर्कापन गरिएको हो ।
कार्यक्रममा बोल्दै कोइरालाले आफ्नो जन्मभूमिप्रतिको माया, सम्मान र आत्मीयतालाई शब्दमार्फत अभिव्यक्त गर्ने प्रयासस्वरूप कृतिलाई आफ्नै गृह जिल्ला भोजपुरमा सार्वजनिक गरेको बताउनुभयो। “भोजपुरले मलाई चिनाएको हो, यही भूमिको माया र प्रेरणाले यो कृति जन्मिएको हो, त्यसैले यहीँबाट यसको यात्रा सुरु गराउन पाउँदा गर्व लागेको छ।” उहाँले भन्नुभयो ।
बहुआयामिक व्यक्तित्वका धनी कोइराला साहित्य, संगीत र समाजसेवामा सक्रिय रूपमा संलग्न रहँदै आउनुभएको छ। पूर्वअर्थमन्त्रीसमेत रहनुभएका उहाँले नेपाली गीत–संगीत क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आउनु भएको छ ।
उहाँले ‘लाजको लाली पोतेर आइदेऊ’ ‘आधा जिन्दगी बितिसक्यो’, र ‘रुपौली रानी’ जस्ता सयौँ लोकप्रिय गीतहरूको रचना गरिसक्नुभएको छ। उहाँका सिर्जनामा जीवनका अनुभूति, प्रेम, पीडा र समाजका विविध पक्षहरूको यथार्थ चित्रण पाइन्छ।
लोकार्पण गरिएको ‘आधा जिन्दगी’ गीतिसंग्रहमा जीवनका उतारचढाव, मानवीय सम्बन्ध, समयको परिवर्तन र अनुभूतिका गहिरा भावहरू समेटिएका गीतहरू संग्रहित रहेका छन्। कार्यक्रममा सहभागी साहित्यकारहरूले कृतिले नेपाली गीत–साहित्यमा थप योगदान पु¥याउने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रमकै अवसरमा त्रिवेणी साहित्य प्रतिष्ठानले कोइरालाले साहित्य तथा लेखनमार्फत पु¥याएको योगदानको कदरस्वरूप सम्मान गरेको थियो। सम्मान ग्रहण गर्दै कोइरालाले साहित्यप्रति अझ जिम्मेवार भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसै अवसरमा भोजपुर प्रतिभा पुरस्कार कवि तथा साहित्यकार नारदमणि हार्ताम्छालीलाई सम्मान प्रदान गरिएको थियो। कार्यक्रम त्रिवेणी साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष श्याम तमोटको प्रमुख आथित्यतामा गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार