
युवराज विष्ट
भोजपुर, २५ बैशाख ।
दुर्गम क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले भोजपुरको खोक्सिकमा पक्की आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएको छ। यसअघि भवन अभावका कारण सहकारीको घरबाट सेवा प्रवाह हुँदै आएकोमा अब चारकोठे पक्की भवन निर्माण भएसँगै सेवा नयाँ भवनबाट सञ्चालन गरिएको हो।
वडाको पहलमा प्रदेश सरकारबाट प्राप्त रु. २५ लाख बजेटमा पक्की भवन निर्माण गरिएको वडाध्यक्ष बाचकुमार राईले जानकारी दिनुभयो। उहाँका अनुसार विगतमा स्वास्थ्य चौकी नै नहुँदा स्थानीयले आधारभूत स्वास्थ्य सेवा लिनसमेत ठूलो सास्ती भोग्नुपरेको थियो।
“भौगोलिक विकटताका कारण हाम्रो क्षेत्रमा स्वास्थ्य सेवा लिन निकै कठिन थियो,” वडाध्यक्ष राईले भन्नुभयो, “संघीयता कार्यान्वयनसँगै स्वास्थ्य चौकी स्थापना गर्यौं। भवन नहुँदा सेवा प्रवाहमा समस्या थियो, तर अहिले पक्की भवन निर्माण गरेर सेवा थालेका छौँ ।”
नवनिर्मित भवनको कोशी प्रदेश सांसद सिर्जना राईले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो। उहाँले नयाँ भवन पक्की निर्माणसँगै सेवा प्रवाह प्रभावकारी र व्यवस्थित हुने विश्वास व्यक्त गर्नुभयो ग्रामीण तथा दुर्गम क्षेत्रसम्म स्वास्थ्य सेवा विस्तार गर्नु सरकारको प्राथमिकता रहेको बताउनुभयो ।
स्थानीयवासी सूर्य राईले आफ्नै गाउँमा स्वास्थ्य चौकीको पक्की भवन निर्माण भएपछि उत्साह बढेको बताउनुभयो। उहाँका अनुसार विगतमा सामान्य उपचारका लागि समेत दुईदेखि तीन घण्टा हिँडेर अन्य ठाउँ जानुपर्ने बाध्यता थियो।
“हाम्रो ठाउँमा पहिले स्वास्थ्य चौकी नै थिएन,” उहाँले भन्नुभयो, “स्थानीय तह आएपछि स्थापना भयो तर भवन अभावले समस्या थियो। अहिले पक्की भवन बनेपछि सेवा लिन निकै सहज भएको छ।”
दक्षिणी क्षेत्रमा पर्ने खोक्सिक भोजपुर सदरमुकामबाट करिब ५० किलोमिटर टाढा पर्छ। कच्ची सडकका कारण यहाँका नागरिकलाई सदरमुकामसम्म पुगेर स्वास्थ्य सेवा लिन अझै पनि कठिनाइ हुने गरेको छ।


















