
युवराज विष्ट
भोजपुर, १२ चैत ।
भोजपुरमा भएको बस दुर्घटनामा उद्धार कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्थानीयबासी तथा चिकित्सकलाई नयाँ श्रीनाथ गण भोजपुरले सम्मान गरेको छ। निर्वाचन सुरक्षामा खटिएका नेपाली सेना सवार बस दुर्घटनामा परेपछि तत्काल जोखिम मोलेर उद्धारमा जुटेका व्यक्तिहरूको योगदानको कदर गर्दै सम्मान गरिएको हो।
गत फागुन ६ गते सदरमुकामबाट टेम्केमैयुङ गाउँपालिकातर्फ जाँदै गरेको ना ४ ख ७३१७ नम्बरको बस भोजपुर नगरपालिका–३ सेतिबगर नजिकै दुर्घटनामा परेको थियो। दुर्घटनामा २४ जना घाइते भएका थिए। घटनापछि स्थानीयबासीको सकृयतामा घाइतेहरूलाई तुरुन्त उद्धार गरी उपचारका लागि अस्पताल पु¥याइएको थियो । जसका कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको बताइएको छ।
उद्धार कार्यमा अग्रसर भएर सहयोग पु¥याउने देवराज राई, बुद्ध राई, विजय राई, सन्तोष बाबु श्रेष्ठ, हरिबहादुर खड्का तथा उपचारमा सम्लग्न जिल्ला अस्पताल भोजपुरका डाक्टर पवित्रा श्रेष्ठलाई नयाँ श्रीनाथ गण भोजपुरका गणपति प्रमुख सेनानी मनोज ढुङ्गेलले सम्मान पत्र प्रदान गर्नुभएको हो। संकटको समयमा स्थानीयबासीले देखाएको साहस, मानवता र सहकार्यको भावना अनुकरणीय रहेको सेनाले जनाएको छ ।

















