रिजाल धारा खानेपानी आयोजना निर्माणले स्थानीयलाई सहज


युवराज विष्ट
भोजपुर २२असार ।
यहाँको पौवादुङमा गाउँपालिका ३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी ट्याङ्की निर्माण आयोजना सम्पन्न भएको छ । यो क्षेत्रका ५० बढी घर परिवारलाई पानी खुवाउने लक्ष्यले यहाँ आयोजना सञ्चालन गरिएको हो ।
यो आयोजनाबाट यहाँका ५० बढी घर परिवार र च्याङ्ग्रे बजारबासीलाई राहत पुगेको निर्माण उपभोक्ता समितिका अध्यक्ष भूपध्वज कोइरालाले बताउनुभयो । यहाँका स्थानीयसँगै पौवादुङमा गाउँपालिकाको केन्द्र च्याङ्ग्रे बजारका नागरिकलेसमेत विकल्पको रुपमा यहाँको पानी प्रयोग गर्ने उहाँको भनाइ छ । च्याङ्ग्रे क्षेत्रमा पानीको समस्या हुँदा यो स्थानमा स्थानीयको भिड लाग्ने उहाँले बताउनुभयो ।
“यो आयोजना सञ्चालन नहुँदा यहाँ पानीको धेरै समस्या थियो”उहाँले भन्नुभयो,“यो आयोजनाबाट ५० घर परिवारलाई सहजता भएको छ । च्याङ्ग्रे बजारमा पानी विग्रेको अवस्थामा एक मात्र विकल्पको रुपमा यो धारा रहेको छ ।”
यहाँबाट घर घरमा धारा वितरण नभएपनि मुहानको संरक्षणसँगै २० घन मिटरको ट्याङ्की निर्माण गरेर मुहानमा नै तीन वटा धारा जडान गरिएको उहाँको भनाइ छ ।
यो आर्थिक वर्षमा आयोजना निर्माणको काम सम्पन्न भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भोजपुरका प्रमुख आशुतोष ठाकुरले बताउनुभयो । यहाँ करिव रु. १८ लाख लागतमा आयोजनाको काम सम्पन्न भएको उहाँको भनाइ छ । सानो योजना भएपनि यसले यहाँका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको उहाँले बताउनुभयो ।
रिजाल धारा खानेपानी आयोजना सञ्चालनले स्थानीयबासीलाई सहजता भएको पौवादुङमा ३ का वडाध्यक्ष तीर्थबहादुर कार्कीले बताउनुभयो । विगतमा कुवाबाट पानी खानुपर्ने अवस्थामा अहिले मुहान संरक्षणसँगै ट्याङ्की निर्माण गरेर धारा जडान भएपछि नागरिकलाई सहजता भएको उहाँको भनाइ छ । यो खानेपानीले नजिकै रहेको च्याङ्ग्रे बजारका नागरिकलाईसमेत राहत मिलेको कार्कीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार