
युवराज विष्ट
भोजपुर, ३१ चैत ।
भोजपुर ओख्रेको सहिद गेट– हुर्वु भञ्ज्याङ सडकको स्तरोउन्नती थालिएको छ । केन्द्र सरकारबाट प्राप्त रु. तीन करोड ८८ लाख लागतमा सडक स्तरोउन्नती थालिएको हो ।
पिखुवा खोला–दलगाउँ –भुल्के– ओख्रे सडक अन्तर्गत सहिद गेटबाट हुर्वु भञ्ज्याङसम्म दुई दशमलव १६ किलोमिटर खण्ड स्तरोउन्नती भइरहेको छ । सडकको मोड मिलाउने, सडक चौडा गर्ने, कजवे बनाउने, मेसीनरी पर्खाल लगाउने, जाली लगाउने ग्रावेल गर्ने काम भईरहेको निर्माण कम्पनी इष्ट वि एनले जनाएको छ । हालसम्म यो सडक निर्माणको काम ३० प्रतिशतको हारहारी सम्पन्न भएको कम्पनीका सुपरभाइजर जीवन बुढाथोकीले जानकारी दिनुभयो । अवको एकदेखी दुई महिना भित्र सम्पूर्ण काम सक्ने लक्ष्य रहेको उहाँको भनाइ छ ।
पिखुवा खोला–दलगाउँ –भुल्के– ओख्रे– सहिद गेट– हुर्वु भञ्ज्याङ करिव १६ किलोमिटर सडक खण्ड मध्ये सहिद गेट– हुर्व भञ्ज्याङ सडक निर्माण भईरहेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थाम बहादुर राईले बताउनुभयो । गाउपालिकासँगै छिमेकी जिल्ला खोटाङलाई जोड्ने यो सडक निर्माणको काम प्राथमिकता साथ अघि बढाइएको अध्यक्ष राईको भनाइ छ ।
गाउँपालिकाको पहलमा संघीय सरकारबाट प्राप्त रु. तीन करोड ८८ लाख लागतमा पहिलो खण्डको काम भईरहेको अध्यक्ष राईले जानकारी दिनुभयो । “यो हाम्रो गाउँपालिकाको महत्वपूर्ण सडक हो”अध्यक्ष राईले भन्नुभयो,“यो सडकले भोजपुरलाई छिमेकी जिल्लालाई खोटाङ पनि जोडेको छ । धेरै पहल कदमीपछि केन्द्र सरकारबाट प्राप्त रु.तीन करोड ८८ लाख लागत सडक स्तरोउन्नती थालेका छौँ ।”
यो सडकको अन्य दुई खण्डमा पनि यहि वर्षमा स्तरोउन्नतीको काम गरिने अध्यक्ष राईले बताउनुभयो । पिखुवा खोलादेखी पिखुवा कृषि फर्मसम्म रु. २० लाख बजेट र अर्को खण्ड प्रदेश सरकार र गाउँपालिकाको लागत साझेदारीमा रु. दुई करोड पाँच लाख लागतमा स्तरोउन्नती गरिने अध्यक्ष राईले बताउनुभयो ।
हिउँदमा धुलाम्य र वर्षातमा हिलाम्य हुने सडकको स्तरोउन्नती थालिएपछि स्थानीयबासी खुसी भएका छन् । सडक निर्माणको कामले उत्साह थपिएको स्थानीयबासी शेरबहादुर बानियाले बताउनुभयो । सडकको स्तरोउन्नतीपछि स्थानीयको जनजीवनमा सहजता हुने उहाँको भनाइ छ ।
“यो सडक निर्माणले हामी उत्साहित भएका छौँ”उहाँले भन्नुभयो,“सडक स्तरोउन्नती नहुँदा हामीलाई धेरै समस्या थियो । अव भने यहाँबाट वर्षातमा पनि दैनिक यातायात सञ्चालन हुन्छ भन्ने आशामा छौँ । स्थानीयको समस्यालाई ध्यानमा राखेर गाउँपालिकाले सडक स्तरोउन्नतीका लागि गरिरहेको काम प्रति हामी खुसी छौँ ।”




















