माघ १ गतेबाट ‘प्रथम पौवादुङमा गोल्ड कप’ हुने


भोजपुर, १८ पुस । भोजपुरमा कोशी प्रदेशका अन्तरपालिका स्तरिय ‘प्रथम पौवादुङमा गोल्ड कप फुटबल प्रतियोगिता’ हुने भएको छ । पौवादुङमा गाउँपालिकाको आर्थिक व्यावस्थापनमा माघ १ गतेबाट ९ गतेसम्म प्रतियोगिता हुने भएको हो । प्रतियोगिता सञ्चालनका विषयमा बुधबार गाउँपालिका केन्द्र च्याङ्ग्रेमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । फिफा तथा एन्फासँगै आयोजकको नियम अनुसार पौवादुङमा गाउँपालिकाको रंगाशालामा प्रतियोगिता सञ्चालन हुने पत्रकारसम्मलेन मार्फत जानकारी दिइएकोे छ ।

प्रतियोगितामा विदेशी तथा अन्य पालिका र जिल्लाका खेलाडीहरुलेसमेत सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद रु.तीन लाखसहित ट्रफि,मेडल र प्रमाण पत्र पाउने छ भने द्धितिय हने टिमले नगद रु. दुई लाख मेडल र प्रमाण पाउने पौवादुङमा गोल्ड कप तथा माघिमेला कार्यक्रम –२०८० आयोजक समिति अध्यक्ष चोलप्रसाद आलेले जानकारी दिए । प्रतियोगितामा पुरुष तर्फ आयोजकसहित १६ टिम र महिला तर्फ आयोजकसहित आठ टिम मात्र सहभागिता जनाउन पाउने अध्यक्ष आलेको भनाइ छ ।

त्यस्तै प्रतियोगितामा उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट डिफेन्डरलाई जनहि रु. पाँच हजारका साथमा ट्रफि र उत्कृष्ट खेलाडीले नगद रु. १५ हजार साथमा ट्रफि दिइने आयोजक समितिका सचिव देउमान राईले पत्रकारसम्मेलनमा जानकारी दिए । त्यस्तै महिला तर्फ प्रथम हुनेले नगद रु. ६० हजार, द्धितिय नगद ४० हजारसहित प्रमाण पाउने जनाइएको छ । खेल क्षेत्रको विकाससँगै युवा,बालवालिकाहरुको शरिरिक तथा मानसिक विकासका लागि गाउँपालिकाले गोल्ड कप प्रतियोगिता सञ्चालन गर्न लागेको गाउँपालिका अध्यक्ष किरण राईले बताए ।

प्रतियोगिता सञ्चालनले यहाँको पर्यटन क्षेत्रको विकासमासमेत टेवा पुग्ने अध्यक्ष राईको भनाइ छ । “गाउँपालिकाको आर्थिक व्यावस्थापनमा हामीले पौवादुङमा गोल्ड कप सञ्चालन गर्न लागेका छौँ”अध्यक्ष राईले भने,“प्रतियोगिताले खेल क्षेत्रको विकाससँगै यहाँको पर्यटन प्रवद्र्धनमासमेत टेवा पुग्छ भन्ने हामीले अपेक्षा लिएका छौँ । ”
प्रतियोगिता तथा माघिमेलामा पत्रु खाना (जङ फुड) निषेध गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराईले जानकारी दिए ।

गाउँपलिकाले पत्रुखानाको खानालाई निरुत्साहित गर्ने लक्ष्यका साथ काम गरिरहेकोले यस्ता खालका खानाहरुको विक्री वितरणमा रोक लगाइएको उनको भनाइ छ ।“प्रतियोगितासँगै माघिमेलामा पत्रु खानालाई निषेध गरिएको छ” प्रशासकीय अधिकृत भट्टराईले भने, “हामीले स्थानीय उत्पादनलाई पबद्र्धन गर्ने लक्ष्यले यो निर्णय गरेका हौँ ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार