हतुवागढीमा श्रमदानमा मार्फत रोपियो चार सय बढी विरुवा


भोजपुर,१३ साउन । भोजपुरको हतुवागढी गाउँपालिकाको पर्यटकीय क्षेत्रमा लालीगुँरासहित चार सय बढी विरुवा रोपिएको छ । गाउँपालिका स्तरिय श्रमदान अभियान सञ्चालन गरेर घोडेटार, जोर आहाल संखाम, दिमालुङ निर्माणाधिन पैदलमार्गमा लालीगुँरास, धुपी लगायतका चार सय ५० विरुवा रोपिएको हो । प्रत्येक महिनाको एकदिन पालिका स्तरिय श्रमदान अभियान सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए । यो निर्णयसँगै अव वडाहरुले पनि महिनामा एकदिन श्रमदानको कार्यक्रम सञ्चालन गर्ने उनको भनाइ छ ।

‘श्रमदान अभियान सञ्चालन गरेर यहाँको पर्यटकीय क्षेत्रमा चार सय बढी विरुवा रोप्ने काम सम्पन्न गरेका छौँ’अध्यक्ष राईले भने,‘आगामी दिनमा यो अभियानलाई निरन्तरता दिने निर्णय गरेका छौँ । अव महिनामा एकदिन पालिका स्तररिय श्रमदान अभियान सञ्चालन गछौँ ।’ अभियानको यहाँ निर्माण भईरहेको पदमार्गलाई लक्षित गरेर शुरुआत गरिएको अध्यक्ष राईको भनाइ छ । पैदल मार्गमा पर्यटकलाई आकर्षित गर्ने खालका विरुवा रोपिएको गरिएको अध्यक्ष राईले जानकारी दिए ।

‘घोडेटार, जोर आहाल संखाम,दिमालुङ पैदल मार्ग हाम्रो गौरवको योजनाको रुपमा रहेको छ’ अध्यक्ष राईले भने,‘ यसलाई यहाँको मुख्य पर्यटकीय पदमार्गको रुपमा स्थापित गर्ने लक्ष्य छ । पर्यटकलाई लक्षित गरेर विभिन्न जातका अर्नामेन्ट प्लान्ट रोपेका छौँ ।’  पदमार्गलाई वडा नं ३ मा करिव १४ रोपनी क्षेत्रमा निर्माण भईरहेको दिमालुङ स्मारक पार्क र त्यहि जनिकै वडा न. २ मा रहेको करिव ६० रोपनी क्षेत्रमा निर्माण भएको दिमालुङ पार्कसम्म विस्तार गर्ने लक्ष्य रहेको उनको भनाइ छ । दिमालुङ स्मारक पार्क र दिमालुङ पार्कलाई गाउँपालिकाको योजना र प्रदेश सरकार तथा गाउँपालिकाको रु.दुई करोड १३ लाख लागतमा संरक्षण तथा विकास गरिएको अध्यक्ष राईको भनाइ छ ।

यो रकम मध्ये रु. ७५ लाख लागतले दिमालुङ पार्कमा सिमेन्ट वाल र तारजालीसहितको घेरावारा, शौचालय, गेट निर्माण लगायत संरचना निर्माण गरिएका अध्यक्ष राईले जानकारी दिए । बाँकी रहेको रकमबाट दिमालुङ स्मारक पार्क निर्माण गरिएको उनको भनाइ छ । यो स्मारक पार्कलाई अझ विस्तार गर्नको लागि केन्द्र र प्रदेश सरकार तथा सम्वन्धित निकायसँग बजेट माग गर्ने अध्यक्ष राईले जानकारी दिए ।

‘यहाँ निकै ठुलो क्षेत्रमा दिमालुङ स्मारक पार्क र दिमालुङ पार्क निर्माण भइरहेको छ’ अध्यक्ष राईले भने,‘ उपलब्ध बजेट मध्ये दिमालुङ पार्कको संरक्षण तथा विकास गरेका छौँ । खास गरेर यहाँ पर्यटकलाई लक्षित गरेर बगैँचासँगै पिक्निक स्पोर्ट निर्माण गर्ने लक्ष्य छ । निर्माणधिन दिमालुङ स्मारक पार्कलाई अझ विकास तथा विस्तार गर्न सम्वन्धित निकायसँग बजेट माग गर्ने योजना छ ।’

मानिसहरुले विरोधको भावानाले अनावश्यक रुपमा दिमालुङ पार्क र दिमालुङ स्मारक पार्कको बास्तविकता र ऐतिहासिक तथा पर्यटकीय महत्व नबुझि सामाजिक सञ्जालमा गरेको टिका टिप्पनीप्रति दुःख लागेको अध्यक्ष राईको भनाइ छ । ‘हामीले यहाँको पर्यटनको बृहत्तर विकासमा जोड दिएका छौँ’ अध्यक्ष राईले भने,‘‘हाम्रो अथक प्रयास र मेहनतले एउटा किरातहरुको इतिहास बोकेका ठाउँको संरक्षण गर्दै पर्यटकीय स्थल निर्माण गरेका छौँ । तर मानिसहरुले यसलाई हल्का रुपमा टिका टिप्पणी गरेको देख्दा दुःख लागेको छ । यथार्थ बुझेर हामीलाई खबरदारी गरिदिए भावी योजना निर्माणमा सहयोग पुग्ने थियो । हामीले संस्कृतिको संरक्षणसँगै पर्यटनलाई जोड्न पार्क निर्माण गरेका हौँ ।’

श्रमदान अभियानमा गाउँपालिका अध्यक्ष प्रेमकुमार राई, उपाध्यक्ष सुनिता किराती, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कर्ण कुमार लिम्वु, सम्पूर्ण वडाका वडाध्यक्षहरु, टोल विकास संस्था, गाउँपालिकाका कर्मचारी, स्थानीयबासी लगायतले श्रमदान गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार