विपद् जोखिम न्यूनिकरणको लागि नेपाली सेनाको ‘अभ्यास हालेमालो– ५


भोजपुर,१२ असार । वर्षातको समयमा हुन सक्ने विपद् जोखिम न्यूनिकरणको लागि नेपाली सेना भोजपुरले‘अभ्यास हालेमालो– ५’ सञ्चालन गरेको छ । यो समयमा हुन सक्ने विपद् जोखिमलाई मध्यनजर गरेर नयाँ श्रीनाथ गण भोजपुरले अभ्यास कार्यक्रम सञ्चालन गरेको हो । मंगलबारबाट दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा विपद्का समयमा आईपर्ने समस्या, पूर्व तयारी लगायतको विषयमा छलफल गरिएको छ ।
नयाँ श्रीनाथ गण भोजपुरको आयोजना तथा जिल्ला विपद् व्यावस्थापन समितिको संयोजनमा जिल्ला प्रशासन कार्यालय भोजपुरमा भएको कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, रेडक्रस, उद्योग बाणिज्य संघ, स्थानीय तहका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्धेश्य बारे प्रष्ट पार्दै नयाँ श्रीनाथ गण भोजपुरका प्रमुख फणिन्द्र थापाले विपद्का समयमा नेपाली सेनाले खेल्ने आएको भूमिकाको जानकारी दिए । सरोकारवाला पक्षको उपस्थितिमा विपद् सम्वन्धि डेमोस्ट्रेसन प्रस्तुत गरिने बताए । कार्यक्रम मार्फत विपद् सम्वन्धि जानकारीसँगै विपद् प्रतिकार्य पूर्व तयारीको विषयमा जानकारी गराइएको प्रमुख थापाको भनाइ छ ।

वर्षातको कारण आमागी दिनमा आउन सक्ने सम्भावित जोखिमको लागि तयारी अवस्थामा रहनु पर्ने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरिले बताए । स्थानीय तहहरुले आफ्नो ठाउँमा हुन सक्ने विपद्का घटना ध्यानमा राखेर आवश्यक भूमिका खेल्नु पर्ने धाराणा राखे । विपद्को समयमा सवै सरोकारवाला पक्ष एक भएर जुट्न आवश्यक रहेको उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार