भोजपुरको इस्ट्रनहाइड्रो पावरको विषयमा अख्तियार उजुरी, यस्तो छ कारण !!


भोजपुर, २७ पौष ।

भोजपुर नगरपालिका – ६ पालुवा स्थित पिखुवा खोलामा निर्माणाधिन इस्ट्रनहाइड्रो पावरको विषयमा अख्तियारले छानविन शुरु गरेको छ । हाइड्रो पावर निर्माणको क्रममा पिखुवा खोलामा वनेको पक्की पुललाई असर पर्ने भन्दै अख्तियारमा उजुरी परेपछि छानविन शुरु भएको हो ।

पुलको नजिकै ठुलो क्यानल ( खाल्डो) खनिएको र त्यसले पुललाई समेत असर पर्ने भन्ने उजुरी परेपछि त्यसको विषयमा छानविन भएको छ । छानविनको लागि जिल्ला समन्वय समितिको तर्फ पुलको विषयमा प्रतिवेदन र हाइड्रोपावरलाई पनि आईई र डीपीआर रिपोर्ट मागिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले जानकारी दिए ।

उजुरी परे लगतै स्थलगत रुपमा सो क्षेत्रमा अनुगमन गर्दा जिल्ला समन्वय समिति र हाइड्रोपावर निर्माण कम्पनी दुवै पक्षले एक आपसमा समन्वय नगरि काम गरेको देखिएको उनको भनाई छ ।

उनले भने ‘सो हाइड्रो पावरको विषयमा अख्तियारमा उजुरी परेको छ, उजुरी परे लगतै स्थलगत रुपमा मैले अनुगमन गर्दा दुवै पक्षको कमजोरी देखिएको छ, किनकी पुलको नजिकै त्यती ठुलो खाल्डो खन्दा जिल्ला समन्वय समितले पनि चासो दिनु पर्ने, र ठेकेदारले पनि जानकारी गराएर मात्र काम शुरु गर्नु पर्ने तर त्यस्तो पाइएन ।’

दुवै पक्षबाट आएको कागजातको आधारमा प्रारम्भिक रिर्पोट तयार गरेर अख्तियारमा पठाउने प्रमुख जिल्ला अधिकारी दाहालको भनाई छ । कुनै पनि जिल्लाको अख्यिारको प्रतिनिधिको रुपमा प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी दिएको छ ।

इस्टन हाइड्रोपावर लिमिटेडले २०६२ सालबाट विद्युत गृह निर्माणको काम शुरु गरेको थियो । एक अर्व लागतमा निर्माण भईरहेको आयोजनाको काम २०७६ सम्ममा सक्ने लक्ष्य रहेको आयोजनाका इन्जिनियर रोशन शाहले जानकारी दिए ।

सो आयोजनाबाट ५ मेघावट विद्युत उत्पादन हुने श्रेष्ठको भनाई छ । हाल निर्माणको काम तिव्रगतिमा भईरहको जनाइएको छ । इन्जिनियर शाहका अनुसार समग्र भोजपुरमा एक दशमलव ५ देखि २ मेघावट सम्म विजुलीमा आवश्यक रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार