मैले शिलान्यास गरेका सबै योजनाले पूर्णता पाउछन् : निवर्तमान मुख्यमन्त्री शेरधन राई


भोजपुर, ७ असोज । सञ्चालित योजनामा सम्पन्न हुने निवर्तमान मुख्यमन्त्री शेरधन राईले बताएका छन् । यहाँ निर्माण भईरहेका कामले तिव्रता पाएको छ । यसअघि निर्माण थालिएका सडक, पुल, भोजपुर रंगशाला लगायतको काम तिव्रगतिमा भइरहेको छन् । निर्माणधिन आयोजनाको अवलोकन गर्दै, जनताको आवश्यकताको आधारमा दर्जन बढी सडक, पुल, खेलमैदान निर्माण, लगाएत भौतिक संरचना निर्माण भईरहेकोले आफु मुख्यमन्त्रीमा नरहेपनि ती आयोजनाको पूर्णताको लागि भूमिका खेल्ने बताए । निबर्तमान मुख्यमन्त्री राईले भने,‘यहाँका जनताले विकासको महशुस गर्ने गरी विकासका गतिविधि सञ्चालन भइरहेका छन् । प्रदेशबासीको पाँच वर्ष नै सेवा गर्ने मेरो उद्धेश्य भएपनि पछिल्लो समयमा सिर्जना भएको घटना,अवस्थाको कारण म मुख्यमन्त्रीबाट बाहिर छुँ । तर पनि मेरो कार्यकालमा सिलान्यास भएका योजनाहरुले पूर्णता पाउछन् ।’

गृह जिल्लामा आएको अवसरमा राईले आफूले शिलान्यास गरेको विभिन्न योजनाहरुको अनुगमन गर्नु भएको हो । अनुगमनका क्रममा कामले गतिलिएको पाइएको साथै कामका क्रममा आएका विभिन्न समस्याहरुको समाधानमा पहल गर्ने बताए । राईले भने,‘मैले सिलान्यास गरेकासँगै अन्य आयोजनाहरुको अनुगमन गरेको छु । कामको प्रगति राम्रो छ । अनुगमनका क्रममा निर्माणको जिम्मा लिएका कम्पनीले कामको क्रममा आएका विभिन्न कागज पत्र तथा अन्य प्राविधिक विषयका जानकारी गराएका छन्। ती समस्याको समाधनको लागि मैले सम्बन्धित कार्यालयलाई ध्यानकर्षण दिन भनिसकेको छु ।’ राईले भोजपुर सदरमुकाममा निर्माण भईरहेका अन्राष्ट्रियस्तरको भोजपुर रंगाशाला र किराँत सस्कृतिसँग जोडिएर निर्माण भईरहेको एलम्बर सभाहलको प्रत्यक्ष कार्यस्थलमा पुगेर अनुगमन गरेका छन् ।

‘कसैले यहाँ भईरहेका कामहरुले पूर्णता पाउदैन् । अलपत्र बन्छन् भनेर अफबाह फैलाएको पनि मैले जनस्तरबाट सुनेको छु । मेरो कार्यकालमा आफैले शिलान्यास गरेर आफैले उद्घाटन गरेका धेरै योजना छन् । अहिले निर्माणका क्रममा रहेका सबै योजनाले पूर्णता पाउछन् । मैले शिलान्यास गरेका धेरै योजनाहरु अहिले अन्तिम चरणमा छन्’, निवर्तमान मुख्यमन्त्री राईले बताए । निर्वतमान मुख्यमन्त्री राईले करीब रु.१७ करोड लागतमा जिल्लाको एक मात्र टक्सार विमानस्थलबाट सदरमुकामसम्मको पाँच किलोमिटर कालोपत्रे सडकको उद्घाटन गरिसकेका छन् । आसपाल्ड प्रविधिबाट भोजपुरमा निर्माण भएको पहिलो सडक कालोपत्रे भएको हो । उत्तर– दक्षिण सडक विस्तार रणनितिक योजना अनुसार उदयपुरको मैनामनी र भोजपुरको सिमाना दुधकोशीको पुलले हतुवागढी, आमचोक गाउँपालिकाबाट भोजपुर सदुरमुकामहुँदै संखुुवासभाको किमाथाङकासम्म सडक जोड्ने लक्ष्य रहेको निवर्तमान मुख्यमन्त्री राईले जानकारी दिए ।

उनले भने,‘मेरो कार्यकालमा तराई हुँदै भोजपुरलाई उत्तर–दक्षिण सडकको पहुँचमा जोड्नका लागि प्रदेश सरकारको प्राथमिकता प्राप्त रणनितिक वैकल्पिक सडकको रुपमा हामीले यो सडकलाई राखेका छौँ । जसको लागि मेरो पहलमा एसीयाली विकास बैंकको लगानीमा आरसी आइपी संस्थाले आधारभुत प्रक्रिया पुरा गरेर डीपीआर बन्ने तयारीमा छ । तत्काललाई चतरा देखी भोजपुर सदरमुकाम हुँदै दिंलासम्म र भविष्यमा किमाथाङ्कासम्म जोडेर बैकल्पिक राजमार्ग बनाउने योजनाका साथ काम हुन्छ । यो कामलाई पूर्णता दिन अहिलेपनि म लागि परेका छु ।’

त्यस्तै रामप्रसादराई गाउँपालिकाको डढुवादेखी आरीखोलासम्मको करीब २० किलोमिटर सडक कालोपत्रेको काम भइरहेको छ । पूर्वाधार विकास कार्यालय भोजपुर अन्तर्गत निर्माण भइरहेको यो सडकमा प्रदेश सरकारको करीब रु. ५४ करोड लगानी रहेको छ । त्यस्तै प्रदेश सरकारले षडानन्द नगरपालिका –१२ तुर्केपुल –फाली दोबाटो २२ किलोमिटर सडक कालोपत्रेको काम शुरु गरेको छ । रु. ६१ करोड ६० लाख लागतमा आस्फाल्ड प्रविधिबाट कालोपत्रे भइरहेको सो सडक आगामी दुई वर्ष भित्र सम्पन्न गर्ने सम्झौता रहेको पूर्वाधार विकास कार्यालयको भनाइ छ ।

भोजपुरलाई छोटो सडक मार्गबाट तराईका जिल्लासंग जोड्ने लक्ष्यका साथ हतुवागढी –९ हसनपुरको चुहार र उदयपुरको बेलका नगरपालिका–७ मैनामैनी जोड्ने दुधकोशी नदिमा मोटरेवल पक्की पुल निर्माण भईरहेको छ । प्रदेश एक सरकारको रु. २१ करोड, २३ लाख १२ हजार ४ सय ७ रुपैँया लागतमा पुल निर्माण शुरु भएको हो । पुलको लम्बाई ९० मिटर र चौडाई फुटपात सहित साढे १० मिटर रहेको छ । पुलको डिजाईन अवधि ५० देखि ८० वर्ष रहेको छ । सदरमुकामबाट दुधकोशी पुलसम्मको लम्बाई करीब ६५ किलोमिटर रहेको छ ।

रामप्रसादराई गाउँपालिका र हतुवागढी गाउँपालिका जोड्ने कावा खोलामा प्रदेश– १ सरकारको समन्वय तथा स्वीस सरकारको रु. पाँच करोड लागतमा पक्की पुल निर्माण भईरहेको छ । पुल ४५ मिटर लम्वाई, ६ मिटर चौडाई र १ दशमलब २० मिटरको दुवै तिर पैदल हिड्न मिल्ने गरी बनाउन लागिएको छ । पुलको डिजाइन अवधी ८० वर्षको र पुल भूकम्प प्रतिरोधी हुने प्राविधिकले बताएका छन् । त्यस्तै स्वीस सरकारको रु तीन करोड लागतमा सिक्तेल खोलामा निर्माण भईरहेको २५ मिटर लामो पक्की पुलको काम भने अन्तिम चरणमा पुगेको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ ।

त्यस्तै राई मुख्यमन्त्री हुँदा नै भोजपुर नगरपालिका–१२ टक्सार र रामप्रसादराई गाउँपालिकाको मानेभञ्याङ जोड्ने पिखुवा खोलामा पनि पक्की पुल निर्माण थालिएको छ । पूर्वाधार विकास कार्यालय भोजपुर अन्र्तगत प्रदेश नं १ सरकारको रु.६ करोड, १३ लाख ५३ हजार लागतमा ७६ दशमलव ३ मिटर लामो मोटेरेवल पक्की पुलको काम अन्तिम चरणमा पुगेको निर्माण कम्पनी मार्सेली निर्माण सेवाले जनाएको छ ।

त्यस्तै रु. तीन करोड २४ लाख लगानीमा बन्दै गरेको आरीखोला पक्की पुलको ५५ प्रतिशत काम सकिएको छ । जुन पुलको लम्बाई २५ मिटर रहेको छ भने निर्माण अवधी २०७८ फागुन सम्म रहेको जनाइएको छ । तमुटार साम्पाङमा प्रदेश सरकारको रु.६ करोड ३३ लाख लागतमा पक्की पुल निर्माण भईरहेको छ । यो पुल २०७६ सालमा सम्झौता भएको छ भने २०७८ चैत्रमा सम्पन्न गर्नुपर्ने सम्झौता छ ।

पिखुवा खाल्डेमा पनि रु. तीन करोड लागतमा २० मिटर लामो पक्की पुल निर्माण भईरहेको छ । यो पुल २०७९ असार सम्ममा सम्पन्न गर्नु पर्ने सम्झौता रहेको छ । त्यस्तैगरी नखुवा खोला दोभान(गंखुवा)मा रु. पाँच करोड ४१ लाख लागतमा ५० मिटर लामो पुल बनाइरहेको छ । सोही नखुवा खोला दोभान(वाङ्खुवा)मा रु.तीन करोड २० लाख लागतमा २५ मिटर लामो पुल निर्माण भइरहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । भोजपुर सदरमुकाममा १४ करोड लागतमा अन्तराष्ट्रियस्तरको भोजपुर रंगशाला र तीन करोड १७ लाख लागतमा यलम्बर सभाहल बनीरहेका छन् ।

राई मुख्यमन्त्री हुँदा मुख्य सडकसंगै यहाँ आवश्यक पर्ने सम्पूर्ण नदी, तथा खोलाहरुमा पुल निर्माणको भईरहेका छन् । जिल्ला भित्र प्रदेश सरकारको लगानी तथा समन्वयमा १३ ओटा पक्की पुल बन्ने पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ । जस मध्ये धेरै पुलको काम अन्तिम चरणमा पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार