हिन्दु,बौद्ध र किराँत धर्मको धार्मिक संरचनाको शिलान्यास, रु. ९२ करोडको डीपीआर तयार


भोजपुर, २७ पुस । धार्मिक सहिष्ण्ुाता कामय गर्ने लक्ष्यका साथ भोजपुरमा एकै स्थानमा तीन धर्मका धार्मिक संरचना बन्ने भएका छन् । अरुण गाउँपालिका– ३ प्याउलीको म¥याङ डाँडाका हिन्दु, बौद्ध र किराँत धर्मका छुटाछुटै संरचनाको आइतबार शिलान्यास गरिएको हो । सबै संरचनाका तीन वटै धर्मका धार्मिक गुरुहरुले शास्त्रिय विधि अनुसार शिलान्यास गरेका हुन् । अरुण बहुउद्धेश्य आध्यात्मिक प्रतिष्ठानले स्थानीय तोरण कार्कीले निशुल्क रुपमा दिएको करीब २० रोपनी क्षेत्रफलमा मन्दिरहरुसंगै सामुदायीक अथिति गृहको पनि शिलान्यास गरेको हो । त्यहा निर्माण हुने संरचनाको ९२ करोड, ९८ लाख,१२ हजार ९५४ रुपैँया बराबरको विस्तृत परियोजना प्रतिवेदन (डीपिआर) तयार गरिएको प्रतिठानका अध्यक्ष चुँडामणी दाहालले जानकारी दिए । गुरुकुलको आगामी १० बर्ष भित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको अध्यक्ष दाहालले बताए ।

हिन्दु धर्मको प्यागोडा शैलीको शिव मन्दिर, बौद्ध धर्मालम्बीहरुको गुम्बा र किराँतहरुको किरात घर निमार्ण हुनेछ । त्यस्तै अतिथि, भत्तजनहरु तथा आमन्त्रितहरुलाई लक्षित गरेर बहुउद्धेश्य अथिति गृह, हिन्दु, बौद्ध र किराँत धर्मका ज्ञान लिन आउने विद्यार्थीका लागि छात्राबास, सवै धर्मका संग्रालय, खेल मैदान, कबड हल, ध्यान केन्द्र, योग भवन लगाएत संरचना बन्ने गरी विस्तृत परियोजना प्रतिवेदन तयार गरिएको प्रतिष्ठानले जनाएको छ । तीन वटै धर्मका पाठशाला समेत स्थापना हुने जनाइएको छ । पछिल्लो समय धर्मको बाहानामा देखिएका विभिन्न खाले समाजमा विखण्डन ल्याउने खालका क्रियाकलापहरु नियन्त्रण गर्न यसले सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ ।

ठुलो रकमको विस्तृत परियोजना प्रतिवेदन तयार भएकोले रकम जुटाउनका लागि केन्द्र, प्रदेश तथा स्थानीय निकायसंग समन्वय भईरहेको गाउँपालिकाले जनाएको छ । बन्न लागेका संरचनाहरुको पूर्णताको लागि सहयोग गर्न सबैमा गाउँपालिकाले आग्रह समेत गरेको छ । गाउँपालिका अध्यक्ष गजेन्द्र कार्कीले भने, ‘ हामीले सबै धर्म बीच समभाव स्थापना गर्नका लागि मन्दिर निर्माणको शिलान्यास गरेका छौँ, विस्तृत परियोजना प्रतिवेदन अनुसार यहाँ सबै संरचना निर्माण गर्न निकै धेरै रकमको आवश्यकता देखिएको छ, हामीसंग अहिले धेरै रकम त छैन तर केन्द्र सरकार, प्रदेश सरकार स्थानीय सरकार तथा अन्य दाताहरुको खोजी गरेर कामलाई सम्पन्न गर्ने लक्ष्य लिएका छौँ ।’

संरचनाहरुको यसअघि सञ्चालन गरिएका विराट महायज्ञ तथा अरुण सांस्कृत महोत्सव संकलन गरिएको रु. ५५ लाख लागतबाट निर्माण शुरु गरिएको हो । अरुण गाउँपालिकाले ठुलो लक्ष्यका साथ सवै धर्मलाई समेटेर धार्मिक गुरुकुल निर्माण गर्न लागेकोले पौवादुङमा गाउँपालिकाले पनि सहयोग गर्ने गाउँपालिका अध्यक्ष किरण राईले बताए । समाजमा सकारात्मक संन्देश प्रवाह गर्न भईरहेको उक्त काम उदाहरणीय रहेको उनको भनाइ छ । अध्यक्ष राईले भने , ‘हाम्रो छिमेकी अरुण गाउँपालिकाले गर्न लागेको कामको लागि मेरो गाउँपालिकाले पनि आर्थिक सहयोग गर्ने बचन दिएको छ, सबै धर्मको संस्कार सस्कृतको संरक्षण गर्न थालिएकोले यो काम सबै मिलेर सफल बनाउन आवश्यक छ ।’

धेरै ठुलो रकममा विभिन्न संरचना निर्माण हुने भएकोले यसको गुणस्तर तथा मौलिकतामा विशेष ध्यान दिनुपर्ने जिल्ला प्रशासन कार्यालय भोजपुरका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद भण्डारीले बताए । निर्माण कार्यलाई सहज गराउनका लागि कार्यालयले खेल्नु पर्ने भूमिकामा कुनै कमि नहुने उनको भनाइ छ ।  गाउँपालिकाले सबै धर्मलाई संरक्षण तथा विकास र विस्तार गर्ने लक्ष्यका साथ गर्न लागेको यो कार्यको स्थानीयबासीले प्रसंशा गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार